प्रहरीद्वारा २०० बोट गाँजा नष्ट
आश्विन ०४, भीरकोट खबर डेस्क,
दहथुम प्रहरी चौकी प्रमुख चेतलाल बि. क. को नेतृत्वमा खटिएको प्रहरी टोलीले भीरकोट नगरपालिका वडा नं ६ आँधिखोला टोलमा २०० बोट गाँजा नष्ट गरेको छ । टोल संयोजक दिपक कोइराला र वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीका अनुसार आँधिखोला टोलका सिमलचौर र ठाडहट्टीयामा किसानका खेत बारीमा उम्रेका २०० बोट गाँजा प्रहरीले फडानी गरी एक ठाउँमा जम्मा गरेर पेट्रोल छर्केर आगो लगाइ नष्ट गरेको हो ।
गाँजाको लतमा परेका युवा र किशोर किशोरीहरू दिउसोको समयमा मोटरसाइकल, स्कुटर प्रयोग गरेर गाँजाको खोजीमा हिड्ने र रातीको समयमा आई चोरी गर्ने प्रवृति बढ्दै गैरहेको अवस्थामा प्रहरीले आफ्नो सक्रियता देखाएको हो । गाँजाका साथ साथै अन्य विकृती र चोरीका घटनालाई नियन्त्रण गर्न प्रहरीले देखाएको सक्रियतालाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छ्न् । वस्तुभाउलाई औषधिको रूपमा प्रयोग गरिने हुनाले किसानहरूले आफ्नो घर छेउछाउ केही गाँजाका बिरुवा लगाउने प्रचलन गाउँघरमा पाइन्छ । तर गाँजालाई लागुपदार्थ कै रूपमा लिइने र यसैका कारण सामाजिक समस्याहरू बढ्दै गएको अवस्थामा सचेत र जिम्मेवार नागरिकहरूले आफ्नो घर वरपर उम्रेका गाँजाको बोटहरू आफैं नष्ट गरेर सभ्य समाज निर्माणमा सहयोग गर्नु आवश्यक छ ।