भीरकोट जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन

असोज ०३, २०७९


स्मार्ट अखबार संवाददाता
३ असोज २०७९

सिविरमा उपचार सेवा  लिंदै सेवाग्राही
बिज्ञापन

संविधान दिवसको अवसरमा भीरकोट जेसिजको आयोजनामा १ दिने बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जेसिजको आयोजनामा भीरकोट नगरपालिका र चरक मेमोरियल हस्पिटल पोखराको संयुक्त सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।बालज्योति इङ्लिस बोर्डिङ स्कूल(प्राङ्गण)मा सोमबार बिहान ११ बजे देखि साँझ ५ बजे सम्म संचालन भएको शिविरमा एक हजार भन्दा बढी बिरामीहरूले सेवा लिएको संयोजक रूद्र ढुङ्गानाले जानकारी दिनुभयो। शिविरमा मुटु, पेट, ग्यास्ट्रिक तथा छाती सम्बन्धी जाँच तथा परामर्श, हाडजोर्नी तथा नशा सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श , महिला तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, भिडियो एक्स-रे, इ.सि.जि, सुगर तथा अन्य जाँचहरु, रुघा, खोकी, ज्वरो, घाँटी सम्बन्धी जाँच तथा परामर्श, दन्त रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, बालरोग सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श लगायतका सेवाहरू उपलब्ध गराइएको थियो। शिविरमा एक दर्जन भन्दा बढी डाक्टरहरूले विशेषज्ञ सेवा प्रदान गरेका थिए।

विज्ञापन

शिविर समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले नागरिकहरूको स्वास्थ्यमा पहुँच विस्तार गर्न पालिकाले स्वास्थ्य शिविर संचालनमा जेसिजलाई सहयोग गरेको बताउनुभयो। यसैगरी भीरकोट नगर अस्पतालको सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास भैरहेको बताउनुभयो।चरक अस्पताल पोखराका अध्यक्ष  रामचन्द्र रेग्मीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर संचालन गरिएको बताउँदै भीरकोटको स्वास्थ्य सेवाको पहुँच विस्तारमा सहयोगी बन्न पाउँदा खुशी लागेको बताउनुभयो। आगामी दिनमा पनि स्थानीय सरकार र सामाजिक संघसंस्थाको सहयोग रहे चरक अस्पताल शिविर संचालन गर्न तयार रहेको बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन

गाउँघरमै विशेषज्ञ सेवा पाउँदा भीरकोटबासीहरू खुशी भएका छ्न्। विशेषज्ञ सेवा लिनको लागि पाल्पा, पोखरा जानुपर्ने बाध्यता रहेको अवस्थामा गाउँघरमै अस्पतालमा जस्तै गरि सेवा पाउँदा खुशी लागेको बताउनुहुन्छ सेवाग्राही कृष्ण प्रसाद अर्याल। उपचारका लागि पोखरा जाने तयारीमा रहनुभएकी अर्का सेवाग्राही हिमा थापाले विशेषज्ञ, औषधि र उपकरण सहितको सेवा आफ्नै गाउँठाउँमा पाउँदा खुशी व्यक्त गर्दै पोखरा जाने झन्झट र दु:ख दुबैबाट जोगिएको बताउनुभयो ।

“भीरकोटको पहिचान, युवाको अभियान” को नारा अनुसार सन् २०१८ मा स्थापना भएको जेसिजले भीरकोटमा विभिन्न सामाजिक कामहरू गर्दै आएको छ।आज भएको स्वास्थ्य शिविर जिल्लामा संचालित अहिले सम्मकै सबैभन्दा ठूलो र व्यवस्थित रहेको जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलको दाबी छ।  अध्यक्ष पौडेले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गरेकोमा भीरकोट नगरपालिका, चरक अस्पताल परिवार, जनप्रतिनिधि, सुरक्षाकर्मी, सेवाग्राही, स्वयंसेवक सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि जेसिजले मानवीय सेवा र सामाजिक गतिविधिलाई निरन्तरता दिने बताउनुभयो।    शिविरमा नगरपालिकाका स्वास्थ्यकर्मी र वेस्ट नेपाल डक्टर्स क्लिनिक बयरघारीका डाक्टहरूले समेत सेवा प्रदान गरेका थिए।