फोलिक एसिड वितरण कार्यक्रम पुन: सुचारू हुने

कार्तिक ०१, २०७८


भीरकोट, कार्तिक १

कोराना महामारीका कारण विद्यालयहरू बन्द भए सँगै बन्द भएको १०-१९ वर्षका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम पुन: सुचारू हुने भएको छ। भीरकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालका अनुसार नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १०-१९वर्षसम्मका किशोरीहरुलाई फोलिक एसिड तथा आइरन चक्की खुवाउने कार्य यही कार्तिक महिनादेखि सुरू हुने भएको हो।

नगर स्वास्थ्य शाखाले हप्ताको १पटक लगातार पौष महिनासम्म ३महिना आइरन तथा फोलिक एसिड सम्बन्धित उमेर समुहका किशोरीहरूलाई वितरण गरी किशोरीहरुमा हुने रक्तअल्पता न्युनिकरण गरिने कार्यक्रममा सहजिकरण गरिदिन सबै विद्यालयहरूलाई अनुरोध गरेको छ।उपभोग्य मिति हेरेर विद्यालयमा मौजुदा आइरन तथा फोलिक एसिड वितरण गर्न र अपुग भएको खण्डमा नजिकको स्वास्थ्य संस्थासँग समन्वय कार्यक्रमलाई सफल बनाउन सरोकारवाला सबैलाई आग्रह गर्दै प्रती किशोरी १३ चक्कीका दरले वितरण गर्न समेत अनुरोध गरिएको छ।