फलफूल खेती विस्तारमा जोड दिदै साना किसान सहकारी

पुष १३, २०८०


स्मार्ट संवाददाता,
१३ पुस २०८०, शुक्रबार
भीरकोट साना किसान सहकारी संस्थाले पालिकाभित्र फलफुल खेती विस्तारलाई प्राथमिकता दिएको छ। सहकारीमा आवद्ध किसानहरूको माग बमोजिम सुन्तला खेती विस्तारलाई पहिलो प्राथमिकता दिइएको संस्थाले जनाएको छ।

सुन्तला खेती विस्तारलाई जोड दिदै सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यालय स्याङ्जा र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा करिब एक सय सत्तरी सदस्यहरूलाई सुन्तला खेती सम्बन्धि तालिम प्रदान गरेको संस्थाका अध्यक्ष तुलसी प्रसाद अर्यालले जानकारी दिए। भाग्योदय मा.वि र सुन्दर बजारमा भएको २ दिने तालिममा किसानहरूलाई कार्यालय प्रमुखहरू माधव लम्साल, विनोद हमाल र प्राविधिकहरू प्रेम रेग्मी र कमल काफ्लेले सुन्तला खेती सम्बन्धमा प्रशिक्षण दिएका थिए।

वडा नं ५,६,७,८ वडामा सुन्तला खेतीको प्रचुर संभावना रहेकाले कार्यक्रम अगाडि बढाइएको निवर्तमान अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिए। उनका अनुसार यो वर्ष १५ हजार सुन्तला रोप्ने लक्ष्य राखिएको छ। किसानहरूले बेर्ना,बगैंचा निर्माणमा ५० प्रतिशत वा सो भन्दा बढीको अनुदान समेत प्राप्त गर्ने संस्थाले जनाएको छ। सुन्तला सँगसँगै कागती, एभोकाडो, आँप, लिची, जुनार लागायतका फलफुल खेतीको पनि संभावना परिक्षण गरिने सहकारीले जनाएको छ।