राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न

असोज ०६, २०८०


गोपाल जी. टी. , स्याङ्गजा 

६ असोज २०८० 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रतिष्ठान स्याङ्जाले शनिबार २२ औं वार्षिक साधारणसभा वालिङमा सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कलाकारको दुःख सुखको सारथी भएको बताए  । अग्रजहरुको सुरुवात र हामी सबैको प्रयासबाट प्रतिष्ठान केन्द्रले डेढ करोड बढिको कलाकार कल्याणकारी कोष स्थापना गरिसकेकाले कलाकारको हरेक दुःख सुखको सारथीको रुपमा काम गर्दै आएको गण्डकी प्रदेशका संयोजकसमेत रहेका  केन्द्रीय सचिव रिजालले बताए   । कलाकारिताको कर्ममा लागेका र नेपाली लोकगीत संगीतमा समर्पित कलाकारहरुलाई विपतका बेला अभिभावकीय भूमिका निभाउदै आएकाले निर्धक्कसँग लाग्न उनको आग्रह छ  ।

देश बाहिर जाँदा संस्थागत अनुमति लिएर जाने परिपाटी बसालिएको छ, यसो गर्दा कलाकारको सुरक्षामा सहयोग पुग्छ । त्यसैले केन्द्रीय समितिको अनुमतिसहितको हस्ताक्षर गराएर साङ्गितिक कार्यक्रममा देश बाहिर जान सचिव रिजालले आग्रह गरे  । साथै स्टेजमा अरुको गीत गाउनेहरुले संम्बन्धित स्रष्टाको अनुमति लिएर मात्रै गाउनुपर्ने उनले सुझाव दिएका छन्  । अन्यथा कार्यवाहीको भागिदार हुनुपर्ने पनि सचिव रिजालको भनाई छ ।

साधारणसभाको अवसरमा प्रतिष्ठान स्याङ्जाका निवर्तमान अध्यक्ष ऋषि डुम्रेले आफ्नो कार्यकालमा जिल्लामा गरिएको कलाकार कल्याणकारी कोष स्थापनार्थ रु. २ लाख ५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल जिटी, पूर्व अध्यक्षहरु अर्जुन गैह्रे ,  नेत्रप्रसाद पाण्डेलाई संरक्षक र जिल्लाका पाँचवटै नगरपालिकालाई संरक्षक संस्थाको रुपमा कदरपत्र प्रदान गरिएको छ । यस्तै पदमराज गुरुङलाई सल्लाहकारमा मनोनित गरिएको प्रमाणपत्र हस्तान्तर गरिएको थियो ।