स्मार्ट समाचार प्रभाव : प्राधिकरणले सुल्झायो ट्रान्सर्फमरको समस्या

भदौ १२, २०८०


नारायणप्रसाद कोइराला, स्याङ्जा
१२ भाद्र २०८०, मंगलबार 

नेपाल विद्युत प्राधिकरण स्याङ्जाले भीरकोट नगरपालिकाको वडा ३ सामादीखोला गाउँमा रहेको ट्रान्सर्फमर र विद्युत लोडको समस्या सुल्झाएको छ। असार २७ गते जलेको ट्रान्सर्फमर करिब डेढ महिना सम्म नफेरेको प्राधिकरणले स्थानीय तथा राष्ट्रिय संचार माध्यममा समाचार प्रकाशित भएपछि समस्या समाधानमा तत्परता देखाएको थियो । नागरिकको उक्त समस्यालाई भाद्र ४ गते “स्मार्ट अखबार” ले  “विद्युत प्राधिकरणको लापरबाहीले स्थानीयलाई सास्ती” शिर्षकमा समाचार पहिलो पटक समाचार प्रकाशन गरेको   थियो। समाचार प्रकाशित भएको ४ दिनमै प्राधिकरणले उक्त समस्या समाधान गरेको हो।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

गत असार २७ गते जलेको ट्रान्सर्फमरको समाधान नहुँदा गाउँहरूलाई कुटानी पिसानीमा समस्या भएको थियो।असार २७ गते जलेको ट्रान्सर्फमर निरीक्षणका लागि ३१ गते आएका विद्युत प्राधिकरणका कर्मचारीहरूले बत्ती बल्ने गरि मर्मत गरेको भएपनि ट्रान्सर्फमर जडान नगरिदिँदा स्थानीयहरूले सास्ती बेहोर्नु परेको थियो ।

ट्रान्सर्फमर जडानका लागि स्थानीयहरूले पटकपटक विद्युत प्राधिकरण स्याङ्जामा सम्पर्क गरेका थिए। बयरघारीदेखी गाउँसम्म ढुवानीको व्यवस्था गर्न पनि तयार थिए तर लामो समयसम्म प्राधिकरणले समस्या समाधानमा चासो दिएको थिएन। समाचार प्रकाशित भएपछि भदौ ८ गते वडा कार्यालय नजिकै रहेको ट्रान्सर्फमर चार्ज गरी समस्याको समाधान गरिएको स्थानीय समाजसेवी विजय काफ्लेले स्मार्ट अखबारलाई बताए।



गाउँ ट्रान्सर्फमरविहिन हुँदा कुटानी पिसानीका लागि १ सय देखि १ सय ७० रूपैयाँ (एकतर्फी) भाडा तिरेर डाँडाकोट र बयरघारी जानुपर्ने बाध्यता थियो। कुटानी पिसानीको समस्या समाधान भएको छ तर प्राधिकरणले जलेको ठाउँमा नयाँ ट्रान्सर्फमर भने अझै सम्म राखेको  छैन ।

वडा नं ३ का वडा अध्यक्ष केशरबहादुर खड्काले प्राधिकरणले वडा कार्यालय नजिकै रहेको ट्रान्सर्फमर प्रयोग गरी गाउँको बिजुली र कुटानीपिसानीको समस्या समाधान गरेको बताए।

विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख प्रताप बरालसँग सम्पर्क गर्दा सडकको अवस्थाका कारण प्राधिकरणको सवारी साधन गाउँ पुग्ने नसक्ने भएकाले ढिलाई भएको बताएका थिए। स्मार्ट अखबारसँग कुरा गर्दै उनले पुरानो ट्रान्सर्फमर चार्ज गर्ने र ट्रान्सर्फमर फेर्ने काम  एक हप्ता भित्रै गर्ने प्रतिबद्धता जनाएका थिए।

वडा नं ३ मा बुटबल पावर कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण र सामुदायिक बचत तथा ऋण सहकारी, बिरूवाद्वारा बितरित सामुदायिक बिजुली गरि ३ थरी बिजुली छ । तर प्राधिकरण र विपिसिको लापरबाहीले गर्दा स्थानीयलाई विद्युतीय उपकरण प्रयोगमा समस्या छ। बिपिसिको बिजुली प्रयोग गरिरहेका स्थानीयहरूले राइसकुकरमा भात पकाउन समस्या भएको बताए । बत्ती बाल्दा भात पाक्न घण्टौ लाग्छ तर यसको समाधान गर्न सेवा प्रदायक र स्थानीय निकायले कुनै पहल नगरेको उनीहरूको गुनासो छ।