जीतका लागि आन्तरिक एकता मजबुत हुनु आवश्यक छ: पौडेल

फागुन ३०, २०७८


३० फागुन २०७८,स्याङ्जा 



नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आन्तरिक एकता मजबुत भएमा स्याङ्जामा सबै तहको निर्वाचनमा जीत सुनिश्चित भएको बताउनुभएको छ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार देशैभर शुरु भएको ‘‘घर–घर जाऔं, कांग्रेस जिताऔं’’ अभियान अन्तर्गत स्याङ्जामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो। उहाँले नेता तथा कार्यकर्ताहरू एकढिक्का हुन सके आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताउँदै पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नेहरूले हार्नेलाई पनि समेटेर एकताको भावना प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको थियो ।नेता पौडेलले स्याङ्जामा कांग्रेस बलियो अवस्थामा रहेको भन्दै ११ वटै पालिकामा कांग्रेस विजयी हुने दाबी समेत गर्नुभएको थियो।



नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले दलभित्र मनमुटाव नराख्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो। ‘हार्नेलाई पनि सँगै लान सके तपाईंको वाहवाही हुन्छ ।जित्ने साथीहरु सिकन्दर नठान्नुस्’ उहाँले भन्नुभयो।

उहाँले भन्नुभयो, ‘स्याङ्जामा कांग्रेसको अवस्था कमजोर छैन्, वी.पी. कोइरालाले कांग्रेस हेर्न स्याङ्जा जाउँ भनेर भन्नुहन्थ्यो, अब सम्पूर्ण कांग्रेसीहरु एकजुट हुँदा स्याङ्जाका ११ वटै पालिकामा मात्र नभई ४ प्रदेश सभा र २ संघीय क्षेत्रमा समेत कांग्रेसले विजय हासिल गर्छ ।’’
कम्युनिष्टहरुले जनतामा भम्र र झुटको खेती गरिरहेको भन्दै कांग्रेसले जनताहरुमा गलत परम्पराको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्ने कांग्रेसको उद्देश्य भएको पौडेललको दाबी थियो। पञ्चायत विरुद्व लड्नका लागि स्याङ्जालीहरुको ठूलो योगदान गरेको भन्दै उहाँले स्याङ्जा काङ्ग्रेसको प्रशंसा समेत गर्नुभएको थियो।