स्याङ्जाका दुई विव्यस अध्यक्षलाई राष्ट्रिय शिक्षा पुरस्कार

असोज ०४, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा
४ असोज २०८०

बिज्ञापन
विज्ञापन

स्याङ्जाका दुई जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घोषणा गरेको राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा काजिमान हरिटिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ र कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन प्रसाद कोइराला रहेका छन्। दुबै विद्यालय पुतलीबजार नगरपालिकामा पर्दछन्।

जिल्ला सदरमुकाममा रहेको काजिमान हरिटीका माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इञ्जिनियर अनुप श्रेष्ठले पूर्व प्रधानाध्यापक ओम प्रकाश शर्माको लापरबाहीले  बन्द हुने अवस्थामा पुगेको  विद्यालयमा व्यापक व्यवस्थापकीय र शैक्षिक सुधार गरेका छन्। नेतृत्व लिएको छोटो समयमै उनले शिक्षक  कक्षाकोठा (टिचर्स रुम) पद्धति, अतिरिक्त शैक्षिक क्रियाकलापको निरन्तरता  र अतिथि संस्कारको अभ्यास, दैनिक एक पिरियड प्रतिभा प्रस्फुटन र सिकाइमा मन्टेस्वरीदेखि सुधार लगायतका विधिको प्रयोग गर्दै विद्यालयलाई सुधारोन्मुख गतिमा अगाडि बढाएका छन्। उनले नेतृत्व लिएपछि विद्यालयमा विद्यार्थीको संख्या पनि बढ्दै गएको छ। विद्यालयको छवि पनि सुधार हुँदै गएको छ।

 कालिका माध्यमिक विद्यालयको दोस्रो कार्यकालका सम्हालिरहेका कोइरालाले  विद्यालय परिसर भित्रै स्टेसनरी , दिवाखाजा तथा राम्रो चमेना गृहको व्यवस्थापन गरेका छन्। उनले विद्यालयको भवनका जिर्ण झ्यालढोका मर्मत संभार,फर्निचर व्यवस्थापन  र शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिएका छन् । राजनीतिक द्वन्द्वका कारण अस्तव्यस्त विद्यालय उनले कार्यकाल सम्हालेपछि थप  व्यवस्थित बन्दै गएको छ। विद्यार्थीलाई कृषि र उत्पादनसँग जोड्न उनले १ हजार भन्दा बढी सुनकागती र करिब २ हजार डालेघाँसका बिरुवा समेत बाडेका थिए।

२०६६ देखि २०७० सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा पहिलो कार्यकाल सम्हाल्दा उनले कक्षा एघार र बाह्रले पढ्ने भवन, वातावरण मैत्री शौचालय, प्राध्यापक तथा पुस्तकालयको भवनको निर्माण, विद्यार्थी मैत्री फर्निचरको व्यवस्थापन  गर्दै विद्यालयको भौतिक व्यवस्थापनमा आमूल परिवर्तन ल्याएका थिए।शिक्षा तर्फ २०६६ सालमै विद्यालयका हरेक तहमा तहगत इन्चार्जको व्यवस्था गर्दै कक्षा नर्सरिमा अडियो भिजुअलद्वारा सिकाइ, विद्यालयमै कम्प्युटर ल्याबको व्यवस्था, सिकाइमा ईन्टरनेटको प्रयोग गर्न  प्रभावकारी भुमिका खेलेका थिए।