स्याङ्जा आइपुग्यो “हाम्रो खुशी”

जेठ ०२, २०८१     एनपी कोइराला


स्याङ्जाको भाग्योदय नमुना  माध्यमिक विद्यालयमा “हाम्रो खुशी” पाठ्यक्रमको प्रारम्भिक कार्यशाला सुरू भएको छ।बालबालिकालाई जीवन, प्रकृति, जन्म, सम्बन्ध , खुसी र सुखका बारेको अनुभव गराउने र शिक्षणसिकाई क्रियाकलापलापलाई दैनिक जीवनसँग जोड्ने उद्देश्यले “हाम्रो खुशी” पाठ्यक्रमको कार्यशाला संचालन गरिएको विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिए।

नेपालमा अहिलेसम्म यो कार्यक्रम नवलपरासीको  मध्यविन्दु नगरपालिकाले मात्रै  सुरु गरेको छ। शिक्षा एवं  संस्कृतिविद् डा. तुलसीराम खनालको पहलमा स्याङ्जामा पहिलोपटक हाम्रो खुशी पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरू भएको हो।६ दिनसम्म संचालन हुने कार्यशालामा भारतीय शिक्षा बोर्डका सदस्य, खुसी सिकाइका विज्ञ श्रवणकुमार शुक्लले प्रशिक्षण दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले जानकारी दिए। कार्यशालामा भाग्योदय मा.वि. र छिमेकी  विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक गरी करिब ५० जनाको सहभागिता रहने विद्यालयले जनाएको छ।

कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट नगरपालिकाले पनि “हाम्रो खुशी” पाठ्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्घाटन सत्रमा काजिमान हरिटिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ , कार्याशालाका संयोजक डा. तुलसीराम खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनाल लगायतले हाम्रो खुशी पाठ्यक्रमको सान्दर्भिकताका विषयमा धारणा राखेका थिए।