गण्डकी प्रदेशभर “नैतिक शिक्षा ” विषय  लागू गर्न माग

चैत १४, २०८०


१४ चैत्र २०८०, बुधबार

विश्व हिन्दु युवा संघ स्याङ्जाले गण्डकी प्रदेशभर नैतिक शिक्षा विषय लागू गर्न माग गर्दै प्रदेशभरीका स्थानीय तहहरूलाई अनुरोध गरेको  छ।  समाजमा हत्या, हिंसा, चोरी, बलात्कार जस्ता अमानवीय र अनैतिक कार्यहरू बढ्दै गएकोप्रती चिन्ता व्यक्त गर्दै संस्थाले यसको न्यूनीकरण एवं समाधानका लागि आगामी शैक्षिकसत्र २०८१ देखि विद्यालय तहमा  नैतिक शिक्षा लागू गर्न गराउन माग गरेको हो।

संस्थाका जिल्ला अध्यक्ष नवराज पौडेले समाजमा अराजकता बढ्दै गएको र सामाजिक मूल्य, मान्यता, संस्कार र परम्परा विपरितका घटना बढेको भन्दै विद्यार्थीहरूलाई संस्कार र नैतिकता सहितको शिक्षा दिनु अपरिहार्य रहेको बताएका छन्।

विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला भित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ।संघले  विगत ३ वर्षदेखी धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको छ।

स्याङ्जामा संस्कृत भाषा कक्षा सञ्चालन,संस्कृत पुस्तकालय स्थापना गरिसकेको संस्थाले  नैतिक शिक्षा लागू गराउन दबाब एवं  पहल गरिरहेको छ।   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका लगायतका  केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा विषय लागू गराउने प्रतिवद्धता जनाएका छ्न।