दभुङठाटी मा.वि. को ५९ औं वार्षिकोत्सब

पुष २७, २०८०


स्मार्ट संवाददाता
२७ पुस २०८०

भीरकोट नगरपालिका वडा नं ४ मा अवस्थित दभुङठाटी माध्यमिक विद्यालयले आफ्नो ५९ औं वार्षिकोत्सब सम्पन्न गरेको छ।वार्षिकोत्सबको अवसरमा विद्यालयका  प्रधानाध्यापक सुवास गहतराज विद्यालयको शैक्षिक एवम् भौतिक प्रगती प्रतिवेदन पेश गरेका थिए। विद्यालयले यो वर्ष स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो।प्रतिवेदनमा विद्यालयमा सिसि क्यामरा र लाइट जडान गरिएको र विद्यार्थीहरूलाई स्थानीय उत्पादन प्रयोग गरि दिवाखाजा उपलब्ध गराइएको विषयलाई उपलब्धिका रूपमा लिइएको छ।

वार्षिकोत्सबको अवसरमा विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा योगदान पुर्‍याएका ३० जना दाता, सामाजिक व्यक्तित्व र संघसंस्थाहरूलाई सम्मान गरिएको थियो। वार्षिकोत्सबको आयोजना गरिएको खेलकुद लगायतका अतिरिक्त कृयाकलापका विजेताहरूलाई मेडल र पुरस्कारसमेत प्रदान गरिएको थियो। मेडलको प्रायोजन प्रधानाध्यापक गहतराजले गरेका थिए। विद्यालयमा रहेका विभिन्न अक्षयकोषबाट विद्यालयका २५ जना जेहन्दार विद्यार्थीहरूलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।

वार्षिकोत्सबको अवसरमा पूर्व विद्यार्थी नुतन ढुङ्गाना गौतमले आफ्ना स्वर्गीय मातापिता टिकादेवी ढुङ्गाना र एक नारायण ढुङ्गानाको स्मृतिमा ३ लाख रूपैयाँको अक्षय कोषको स्थापना गरेकी छन्। अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानीले कक्षा ९ र १० मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिने बताइएको छ।

समारोहमा वडा नं ४ ले विद्यालयमा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका समीर बि.क.लाई नगद पुरस्कार १० हजार रूपैयाँ प्रदान गरेको थियो।यसैगरी १० जना जेहन्दार विद्यार्थीहरूलाई विद्यालयको पोशाक पनि वितरण गरिएको थियो। वार्षिकोत्सब समारोहमा नगर उपप्रमुख भगवती रेग्मी अर्याल,प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, वडा अध्यक्ष रत्नप्रकाश श्रेष्ठ,स्थानीय समाजसेवी , बुद्धिजीवी, विद्यार्थी र अभिभावकहरूको उपस्थिती रहेको थियो।