सामाजिक विकास अन्तर्गत शिक्षामा करिब २ करोड बजेट

असार ११, २०७९


स्मार्ट अखबार संवाददाता,
भीरकोट ११ असार २०७९


बालमैत्री भीरकोट नगरपालिकाले सामाजिक विकास अन्तर्गत शिक्षामा करिब २ करोड बजेट छुट्याएको छ।नगरपालिकाले पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा सुधार एवम् शैक्षिक गुणस्तर वृद्धिका लागि संघीय सरकारबाट सशर्त अनुदान शीर्षकमा प्राप्त हुने रकमको अतिरिक्त शैक्षिक गुणस्तर सुधार, स्थानीय पाठ्यपुस्तक छपाई तथा प्रारम्भिक बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक समेतका शिक्षासँग सम्बन्धित कार्यक्रमका लागि रू. १ करोड ८१ लाख ५५ हजार विनियोजन गरेको छ। नगरपालिका भित्रका सामुदायिक क्याम्पसमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्न रु. २ लाख २५ हजार विनियोजन गरिएको छ ।बालमैत्री स्थानीय शासनको निरन्तरता र दिगोपनाको लागि बालमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम शीर्षकमा रू. ५ लाख बजेट छुट्याइएको छ।

नीति तथा कार्यक्रम र बजेटमा शिक्षालाई सामाजिक विकास अन्तर्गत राखिएको छ।जस अन्तर्गत नगरपालिकाबाट स्वीकृत स्थानीय पाठ्यक्रमको आधारमा तयार गरिएको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक समयमै छपाई तथा वितरण गरी नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठनको व्यवस्था मिलाइने लक्ष्य राखिएको छ।गत वर्ष पनि स्थानीय पाठ्यक्रमको किताब पहिलो परीक्षा सकिएपछि उपलब्ध भएको थियो र यो शैक्षिकसत्रमा विद्यार्थीहरूमा वर्षे विदा सुरू हुन लाग्दा पनि किताब आइपुगेको छैन।

यसैगरी सघन विद्यार्थी भर्ना अभियानको माध्यमबाट विद्यालय जाने उमेरका सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा ल्याउने, टिकाउने र सिकाउने कार्यलाई निरन्तरता दिने, आमाबाबु गुमाएका विद्यालय जाने उमेरका बालबालिकाको लागि शैक्षिक वृत्तिको व्यवस्था मिलाई कक्षा १२ सम्मको पठनपाठनको व्यवस्था मिलाईने, नगरपालिका र सामुदायिक विद्यालयको लागत साझेदारीमा सामुदायिक विद्यालयको एउटा कक्षालाई नमुना कक्षा बनाई पठनपाठन गर्न आवश्यक व्यवस्था मिलाईने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुने खालका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुको साथै विद्यार्थीहरूले अनुभव गर्ने खालका अतिरिक्त शैक्षिक कार्यक्रम सञ्चालन गरी उनीहरूको प्रतिभालाई सीपसंँग आवद्ध गराउने व्यवस्था मिलाइने जस्ता कुराहरू नीति तथा कार्यक्रममा समावेश गरिएका छ्न्।



नगरपालिकामा संचालित सामूदायिक विद्यालयहरूको भौतिक सुधार कार्यक्रम विस्तारको लागि जोड,नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा आवश्यक पर्ने विषय र क्षेत्रको सम्भाव्यता अध्ययन गरी प्राप्त नतिजाका आधारमा अनुमति लिने प्रक्रिया अगाडि बढाउने, आधारभुत तहको कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई भर्ना हुनुभन्दा अगाडि १ वर्ष बालविकास केन्द्रको अनुभव दिलाउने, बाल विकास केन्द्रको अध्ययन पुरा गरेका बालवालिकाहरूलाई विद्यालयमा स्थानान्तरण गरी अध्ययन कार्यलाई निरन्तरता दिनका लागि आवश्यक पर्ने प्रोत्साहनमूलक कार्यक्रम पहिचान गरी कार्यान्वयन गर्ने , विद्यालयहरूको कक्षा कोठाको शिक्षण सिकाई प्रक्रियालाई प्रभावकारी बनाइ गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि शिक्षकहरूको सीप तथा क्षमता अभिवृद्धि गर्न आवश्यकता अनुसार क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, वाल विकास केन्द्रको सिकाई उपलब्धिलाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि सहयोगी कार्यकर्तालाई प्रोत्साहन गर्ने लगायतका विषयवस्तुहरू नीति तथा कार्यक्रममा समेटिएका छ्न्।

नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सम्बन्धित विद्यालय, अभिभावक र नगरपालिकाको साझेदारीमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिने,भीरकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भईसकेको सन्दर्भमा यसको निरन्तरता र दिगोपनाको लागि स्थानीय आमा समूह, युवा क्लब, टोल विकास समिति, बालक्लब, स्थानीय महिला स्वास्थ्य स्वयं सेविका लगायत अन्य सरोकारवाला व्यक्ति तथा संघ संस्थासंग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने, बालबालिकासँग जोडिने हरेक क्रियाकलापहरू बालमैत्री अवधारणा अनुरूप संचालन गर्ने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई वृद्धि गर्न र मूल्यांकन प्रणालीलाई विश्वसनीय बनाउने कार्यक्रमहरू सञ्चालन गर्ने , विद्यालयमा छात्राहरूको नियमितताको लागि निःशुल्क रूपमा स्यानीटरी प्याड उपलब्ध गराउने कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ।