ईबिकको निरन्तरताका लागि वालिङ नगरपालिकाले स्वामित्व लिने

असार २४, २०८०


स्मार्ट  संवाददाता,वालिङ
२४ असार २०८०

वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ‘उद्यमशीलता व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र–”ईबिक” लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व ग्रहण गर्ने तय भएको नगरउपप्रमुख कविता तिवारीले बताइन् । उनले भनिन्,“पालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिसँग मिलेर सञ्चालनमा ल्याएको ईबिक प्रभावकारी रहेको छ त्यसैले यसलाई पालिकाले स्वामित्व ग्रहण गर्नेछ र पालिकाको अंगको रुपमा सञ्चालन गर्नेछ ।”

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका निवर्तमान् प्रमुख दिलिपप्रताप खाँणले उद्यमशीलताको प्रवर्धन अहिलेको आवश्यक्ता भएको बताए । इबिक विदेशबाट फर्किएका र स्वदेशमा नै उद्यम गर्न चाहानेहरुको एक सारथी भएको खाँणको भनाई छ । आफूले ईबिकको मर्म र काम बुझेर नै पालिकामा शुभारम्भ गरेको बताउँदै यसको दिगोपनाको लागि सबैले ध्यान दिनुपर्ने खाँणको विचार छ।

बिज्ञापन

यस्तै कामको शिलशिलामा जिल्ला बाहिर रहेका नगरप्रमुख कृष्ण खाँणले ईबिकलाई प्रभावकारी रुपमा सञ्चालनका लागि आफू प्रतिबद्ध रहेको जानकारी दिए । प्रविधि मार्फत छलफलमा सहभागी भएका नगरप्रमुख खाँणले योजना बनाएर पालिकाले काम गर्ने स्पष्ट पारे।

छलफलमा ईबिकको महत्व र आवश्यक्ता माथि जानकारी गराउँदै युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले भने, “विदेशबाट फर्किएका, स्वदेशमा नै केही गर्न चाहाने तथा उनीहरुमा भएको सीपको व्यावहारिक प्रयोगका लागि यो अति आवश्यक छ ।”

दिगो विकासको लक्ष्य प्राप्तीका लागि आर्थिक संमृद्धि अनिवार्य रहेको भन्दै ईबिकले ‘बाली देखि थाली सम्म’ को भनाईलाई सार्थक पार्ने काम गर्ने अर्यालको भनाई छ ।
ईबिकले उद्यमशीलता,व्यवसाय प्रवर्धन तथा नवप्रवर्तनका कार्य प्रभावकारी रुपमा गर्ने भन्दै प्रमुख अर्यालले वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ईबिक मार्फत पाँच हजार बढीले प्रत्यक्ष फाईदा लिनु सकारात्मक भएको बताए ।



कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले पालिकाले यस अघि नै ईबिक सञ्चालनका लागि बिभिन्न नीति नियम बनाएको जानकारी गराउँदै यसको कार्यान्वयनले ईबिक दिगो रहने बताए ।
कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी सस्थाका प्रतिनिधि तथा दियालो संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।युएनडिपि नेपालको सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित ईबिकलाई नगरपालिकाले नीतिगत निर्णय मार्फत दिगो रुपमा सञ्चालन गर्ने छलफलले निस्कर्ष निकालेको पालिकाले जनाएको छ ।