जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट इपासपोर्ट सेवा सुरु

माघ २७, २०७८


 स्याङ्जा , २७ माघ २०७८                              युवराज पौडेल

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आजबाट विद्युतीय राहदानी इपासपोर्ट सेवा सुरु भएको छ । सो कार्यालयले  स्याङ्जामा आजबाट औपचारिक रुपमा इपासपोर्टको सेवा सञ्चालनमा ल्याएको छ भने इलाका प्रशासन कार्यालय वालिङबाट समेत इपासपोर्टको सेवा दिनका लागि तयारी भइरहेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सेवाग्राहीको मागलाई मध्यनजर गर्दै हामीले राहदानी विभागमा इपासपोर्ट सेवा तुरुन्त सञ्चालनको लागि अनुरोध गरेबमोजिम विभागको प्राविधिक टोली आई सो सम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरी त्यसपश्चात् इपासपोर्टको सेवा सुरु गरिएको हो ।’ यसबाट सेवाग्राहीलाई धेरै सहज हुने विश्वास प्रजिअ पौडेलले व्यक्त गर्नुभएको छ ।

विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्क हेर्ने इन्जिनियर हेमन्तकुमार शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘इपासपोर्टका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्दछ । इपासपोर्टका लागि फर्म भर्दा आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ । सेवाग्राहीले भरेको प्रिइनरोलमेन्ट फर्मको प्रिन्ट कपी र बैङ्कमा तोकिएको राजस्व जम्मा गरेको रसिद लिएर सेवाग्राही प्रशासन कार्यालय जानुपर्ने हुन्छ ।  इपासपोर्टका लागि कार्यालयमा सेवाग्राहीले बायोमेट्रिक्स र फोटो समेत खिचाउनुपर्ने इन्जिनियर शाहले बताउनुभयो ।’