बालमैत्री नगरमा लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम

असार ०८, २०७९


स्मार्ट अखबार संवाददाता , भीरकोट
८ असार २०७९

बालमैत्री नगर भीरकोटमा भीरकोट जेसीजको आयोजना तथा भीरकोट नगरपालिका र वडा प्रहरी कार्यालय वालिङ्गको सहजीकरणमा १ दिने लागू औषध दुर्व्यसन, बालहिंसा, आत्महत्या सम्बन्धी सचेतना तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ।भीरकोट नगरपालिका स्थित आँधीखोला सिटी हलमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि एवं भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले समाजमा सकारात्मक उर्जा थप्ने, युवा तथा बालबालिका लाई सकारात्मक बाटोमा हिँडाउन प्रेरित गर्ने खालको कार्यक्रम गरेकोमा भीरकोट जेसीजलाई धन्यवाद दिँदै यस्तै किसिमका ऊर्जावान कार्यक्रममा नगरपालिकाको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

सचेतना कार्यक्रममा सहभागी विद्यार्थीहरू

कार्यक्रमका अध्यक्ष एवम् भीरकोट जेसिजका अध्यक्ष जेसी कृष्ण प्रसाद पौडेलले जेसिजको मुख्य अभियान मानवताको सेवा गर्नु रहेकोले समाजमा सकारात्मक उर्जा थप्ने खालका यस्तै कार्यक्रम जेसिजले निरन्तर सञ्चालन गर्दै जाने बताउनु भयो।साथै सोही कार्यक्रममा अध्यक्ष पौडेलले निकट भविष्यमा जेसीजले कृषक लक्षित कार्यक्रम सञ्चालन गर्ने घोषणा समेत गर्नु भयो ।

वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले विभिन्न प्रविधिको प्रयोग गर्दै लागू औषध,बाल हिंसा तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कुल बहादुर हरिजनले ट्राफिक नियम सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु भएको थियो। त्यस्तै नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्यालले उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्नु भएको थियो।

भीरकोट भित्रका विभिन्न १५ विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरु, युवा क्लव, सहकारी, बैंक,विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी लगायत करिब ४५० जना भन्दा बढीको सहभागितामा संचालित उक्त कार्यक्रममा भीरकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, नेपाली कांग्रेस पार्टी सभापति याम प्रसाद अधिकारी, नेकपा एमाले अध्यक्ष विश्वनाथ अर्याल, नगर प्रवक्ता दीपेन्द्र केसी, वडा नं ६ का अध्यक्ष लक्ष्मण खत्री, उद्योग वाणिज्य संघका उपाध्यक्ष जगदिश कोइराला, नेपाली कांग्रेस उपसभापति विष्णुमाया काफ्ले,नगर स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु रेग्मी, नगर स्तरीय बाल सञ्जाल अध्यक्ष सुदिप पौडेल, शिक्षक बाबुराम बस्नेत, रेसम प्रसाद देवकोटा लगायतका व्यक्तिहरूले मन्तव्य प्रदान गर्नु भएको थियो।
भीरकोट जेसिजका निवर्तमान अध्यक्ष जेसी प्रसुन मगरको स्वागत सँगै सुरु भएको उक्त कार्यक्रममा उपाध्यक्ष जेसी रिबन विकले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालन महासचिव जेसी सुन्दर कोईरालाले गर्नु भएको थियो।