भीरकोटमा आँधीखोला नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता

असार १५, २०७९


नारायणप्रसाद कोइराला, स्याङ्जा 
१५ असार २०७९

भीरकोट नगरपालिकाले नदीजन्य प्रकोप नियन्त्रण एवं विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। नवनिर्वाचित नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको पहलमा आँधीखोलाको दायाँबायाँ करिब १.५ किलोमीटर क्षेत्रमा अस्थायी तटबन्धन गरिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो।मनसुनजन्य विपद् सुरू हुनु  अगावै नगरपालिकाको र भाडाका डोजर र ट्रीपर प्रयोग गरेर तटबन्धन गरिएको हो।

“चालू आर्थिक वर्षको अन्त्यतिरको समय भएकाले हामीसँग बजेटको अभाव छ।तर मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि हामीले नदी नियन्त्रण र तटबन्धनलाई प्राथमिकतामा राखेर काम गरेका छौं।अस्थायी तटबन्धन भएपनि नदीजन्य प्रकोप नियन्त्रण र विपद् न्यूनीकरणमा यसले पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ।” नगर प्रमुख कर्माचार्यले भन्नुभयो, ” नयाँ आर्थिक वर्षको लागि आँधीखोलामा व्यवस्थित तटबन्धन गर्न र नदीकिनारमा हरित सडक निर्माण गर्न १ करोड रकम विनियोजन गरेका छौं। विपद् व्यवस्थापनका लागि २० लाख रूपैयाँ छुट्याइएको छ।”



तीन वटा डोजर र चारवटा ट्रीपर प्रयोग गरेर एक महिनाको अवधिमा सीमित स्रोत साधनका बावजुत नगरपालिकाले वडा नं १,२,४,५ र ६ क्षेत्र अन्तर्गतको आँधीखोला नदीको दाँयाबाँया १.५ कि.मी. अस्थायी तटबन्धन गरेको हो।करिब एक करोड बराबरको काम गरिएको नगरपालिकाले जनाएको छ। आँधीखोलाको व्यवस्थित तटबन्धन गर्नको लागि प्रदेश र संघीय सरकारसँग पनि आवश्यक सहकार्य गरिने नगरप्रमुख कर्मचार्यले जानकारी दिनुभयो।तटबन्धन व्यवस्थित नहुँदा सिमलचौर, पकान, बयरघारी, गैह्राथोक लगायतका फाँटहरू, सडकमार्ग र नदि किनारका बस्तीहरू सधैं जोखिममा पर्दै आएका छ्न् ।