पालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण

साउन १२, २०७९


स्मार्ट अखबार संवाददाता
१२ साउन २०७९

अर्जुनचौपारी गाउँपालिकाले अर्जुनचौपारी प्रहरी चौकीलाई विपद् व्यवस्थापन एवं उद्धारमा प्रयोग हुने विभिन्न अत्यावश्यक सामाग्रीहरू प्रदान गरेको छ। स्थानीय प्रहरी चौकीको आवश्यकता र मनसुनजन्य विपद्को समयलाई मध्यनजर राखेर विपद् व्यवस्थापनमा प्रयोग हुने करिब ३० हजार बराबरको सामाग्री प्रदान सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार पालिका अहिले मनसुनजन्य विपद्का कारण आक्रान्त बनेको छ। दिगो विकासको भावना अनुरूप काम गरि मनसुनजन्य विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिएको पालिकाले जनाएको छ। पालिकाको केन्द्र भएर बग्ने दरौंखोला नदी दोहन पूर्ण रूपमा बन्द गरि विपद्जन्य जोखिम न्यूनीकरण गर्न लागिएको पालिकाका अध्यक्ष तिवारीले बताउनुभयो। नदीको अनियन्त्रीत दोहन हुँदा सिंचाइ प्रणालीमा समेत असर परी कृषि उत्पादनमा समेत नकारात्मक असर परेकाले नदी दोहन रोक्न लागिएको उहाँको भनाई छ।

पालिकाले प्रहरीलाई ६थान लाइफ ज्याकेट,२ थान बाल्टी, ५ थान विभिन्न साइजका रबर ट्युब र १०० मिटर लाइन डोरी हस्तान्तरण गरेको चौकीका प्रहरी वरिष्ठ नायव निरिक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो।उहाँले भन्नुभयो, “प्रहरीको अनुरोधलाई स्वीकार गरी नवनिर्वाचित सरकारले जनताको राहत उद्धारमा खटिने प्रमुख संयन्त्र प्रहरीलाई राहत उद्धारमा प्रयोग सामाग्री प्रदान गरेकोमा नेपाल प्रहरी र व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्दछु। “