जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा पक्की पूलको शिलन्यास गरिएको छ l देशको पहिलो सामुदायिक होमस्टे एवम् जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल सिरुवारी जोड्ने गरी घट्टेखोलामा पक्की पुल शिलन्यास गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच स्याङ्गजा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राजु थापा र अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले संयुक्त रुपमा उक्त पुलको शिलान्यास गरेका हुन्।
१० मिटर लम्बाई र साढे पाँच मिटर चौडाई कायम हुने गरी निर्माण गर्न लागिएको उक्त पुल हुने अँगेरे-भँगेरे निर्माण सेवा अर्जुन चौपारीले १ करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निर्माण गर्न लागेको हो। पुल सङ्घीय सरकारको ५० लाख र अर्जुनचौपारी गाँपालिकाको बाँकी बजेटमा निर्माण हुन लागेको हो ।
निर्माण कम्पनीसँग एक वर्षमा काम सक्ने गरी यही पुस १२ गते सम्झौता गरिएको थियो । सम्झौता अवधि २०८१ पुस मसान्तसम्मको भएपनि आगामी जेठ मसान्तभित्र पूल निर्माण कार्य सक्ने गरी काम हुने पालिका अध्यक्ष तिवारीले स्मार्ट अखबारलाई बताए l घट्टे खोला खहरे खोला भएकाले वर्षात् अगाडिनै निर्माण कार्य सक्ने गरी काम गर्न पालिकाले निर्माण व्यवसायीलाई अनुरोध गरेको र यस विषयमा निर्माण व्यवसायी सकारात्मक रहेको अध्यक्ष तिवारीले जानकारी दिए l पुलको शिलन्यास गर्दै प्रतिनिधि सभा सदस्य थापाले पुतलीबजार सदरमुकाम -अर्जुनचौपारी – सिरुबारी जोड्ने सडकको स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिदै आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए l यस पुलको निर्माण पश्चात अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकालाई जोड्न सहज हुनेछ।