सडक स्तरोन्नतिलाई प्राथमिकता

माघ १०, २०८०


स्मार्ट संवाददाता,
१० माघ २०८०

भीरकोट नगरपालिकामा ग्रामीण सडक विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिन थालिएको छ।  भरपर्दो सडकमार्ग नहुँदा   दैनिक आवतजावतमा मात्रै नभएर पर्यटन प्रवर्धनमा समेत नागरिकले कठिनाई भोग्दै आएका थिए।  धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको  प्रचुर सम्भावना भएपनि ग्रामीण सडक सहज नहुँदा पर्यटकीय गतिविधि ओझेलमा पर्दै आएका थिए। तर सडक स्तरोन्नति र विस्तारले प्राथमिकता पाउन थालेपछि ग्रामीण यात्रा सहज बन्दै गएको नागरिकको अनुभव छ।

स्थानीय जनप्रतिनिधिहरूले संघ र प्रदेशका जनप्रतिनिधिहरूसँग समन्वय गरि सडक स्तरोन्नति र विस्तारका योजनालाई मूर्त रूप दिन थालेपछि भीरकोटमा ग्रामीण  सडक निर्माणले गति लिन थालेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा पालिकामा ६ किमी  ढलान सडक निर्माण भएको थियो।

पालिकाको सबैभन्दा ठूलो वडा ८ नं वडामा अघिल्लो जनप्रतिनिधिको पालमा अपेक्षित विकास हुन सकेको थिएन। तर २०७९ को निर्वाचनपछि वडा अध्यक्ष निर्वाचित भएका नन्दलाल खनालको चतुर्‍याइँ र जिम्मेवारीबोधले वडामा विकासका पूर्वाधारले राम्रो फड्को मारेका छ्न्। पालिकाको पहिलो हेलिप्याडको निर्माण र सफल परीक्षण पनि ८ नं मा नै भएको थियो।

खनाल अध्यक्ष निर्वाचित भएपछि वडामा १.५ कि.मी. भन्दा बढी ढलान/ पक्की सडक निर्माण भएको छ। ६ कि. मि. भन्दा बढी सडकको विस्तार र स्तरोन्नति गरिएको छ।अहिले वडाका लगभग सबै सडकमा बाह्रै महिना सवारी संचालन गर्न सकिने आधार तय भएकोमा वडावासीहरू खुशी छन्।

हालसम्म ओकादीमा ७सय ५० मिटर, पखेरेमा ४सय ३० मिटर , बडहरेमा १ सय ५० मिटर र खोरबारमा ३ सय मिटर सडक ढलान भैसकेको छ। रिपुखोला-  जोगिथुम १.५ कि.मि. , सानोभञ्जाङ- दिगुवा १.५ कि.मी, मोहनडाँडा – चिलाउनेखर्क १.५ कि.मी, र मोहनडाँडा – रिप १.५ कि.मि. गरि ६ कि.मि. सडक स्तरोन्नति गरिएको छ। यसैगरी उजेलीडाँडा- माझखर्क – मोहनडाँडा सडक स्कुल बस चल्न सक्ने गरि स्तरोन्नति गरिएको छ।

खासगरी उकालो र घुमाउरो अवस्थाका कारण असहज बनेका सडक खण्डलाई प्राथमिकतामा राखेर ढलान र स्थानीयको माग अनुसार स्तरोन्नति गरिएको वडा अध्यक्ष नन्दलाल खनालले जानकारी दिए। संघीय समपूरक, सडक बोर्ड र प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट सडक ढलान र स्तरोन्नति गरिएको अध्यक्ष खनालले बताए। ठूलो वडा भएका कारण मोहनडाँडा र ढापुक गरि २ ठाउँबाट वडाले नागरिकलाई सेवा दिइरहेको छ।वडा कार्यालयहरूलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन लागिपरेको वडा अध्यक्षको दाबी छ।

वडा नं ८ का स्थानीय नारायण रेग्मीले गत ५ वर्षमा भएको भन्दा बढी विकास यो  डेढ वर्षमा भएको अनुभव व्यक्त गरे। ग्रामीण सडकमा यातायात संचालन गरिरहेका यातायात व्यवसायी एवं चालक नवीन थापाले पनि सडक यात्रा सहज बन्दै गएकोमा खुशी व्यक्त गरेका छन्।