१६ जनाले ज्यान गुमाए, कैयौं बेपत्ता
भीरकोट खबर डेस्क, कार्तिक ३
आइतबारदेखि आएको बेमौसमी वर्षाका कारण सृजित बाढी, पहिरोमा परी देशभरी १६ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भारी वर्षाका कारण १९ जिल्ला सबैभन्दा बढी प्रभावित भएका छ्न् । धनकुटामा ६, पाँचथरमा ४, ईलाम र डोटीमा २-२, कालिकोट र डडेल्धुरामा १-१ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । बझाङमा पहिरोले पुरिएर २४ जना बेपत्ता भएका छन् ।बाढी पहिरोमा परेर अझै केही मानिसहरु बेपत्ता भैरहेका छन् । मानवीय क्षति अझै बढ्न सक्ने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले जानकारी दिनुभएको छ । देशका विभिन्न ठाउँमा पहिरोले ४ वटा घर ध्वस्त भएका छ्न् भने ५०० परिवारलाई सुरक्षित ठाँउमा सारिएको छ ।
देशका विभिन्न ठाउँमा धेरै घरहरु पुरिएर मानिसहरु बेपत्ता भैरहेका छन् । उद्वारकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएको छ।
बाढी पहिरोले ठाउँ ठाउँमा बिजुली र सञ्चार माध्यम ठप्प भएकोले उद्वारका लागि कठिनाइ भैरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयले प्रभावित जिल्लाहरुमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।