हिन्दुहरुकाे महान चाड बडा दशैंको सांस्कृतिक तथा सामाजिक महत्व

असोज २२, २०७८


आश्विन २२, यामनाथ रेग्मी

सास्कृतिक महत्व: राष्ट्रिय चाड समेत मानिने दशैं हिन्दू धर्मालम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देवी दुर्गामाताको पुजाआराधना गरी दशमीको दिन दशमीको टिका–प्रसाद ग्रहण गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र त्रि-शक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिन देखी नवरात्री आरम्भ हुन्छ । यस दिन घट कलशको स्थापना गरी देवी-देवता हरुलाई स्वागत गरिन्छ । यसै दिन चोखो पञ्चमाटो वा बालुवा ल्याई दशै घर अथवा पुजा कोठामा राखी जमरा उमार्न जौ अथवा गाउघरमा चली आएको अन्न छरिन्छ । दुर्गा मातालाई मन पर्ने वनस्पति जमरा पनि भएकोले जमरा उमार्ने गरिएको हो ।हाम्रो धर्म संस्कृति अनुसार घट कलशमानै सम्पूर्ण देवी-देवता, सप्तद्वीप, सप्तसागर, सम्पूर्ण तीर्थहरु निहित छन् । जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। यिनै आधारहरूका कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने। दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

भावार्थ द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनबाट आशीर्वाद लिइन्छ ।



सामाजिक महत्व: दशैं पर्व नेपालीहरुको सबै भन्दा विशेष पर्ब हो । दशैं आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजाग्रत पूर्णीमा सम्म (१५दिनलाई) विजया दशमी अथवा दशैं भनिन्छ । असत्य माथि सत्य को विजय भएको रुपमा यो पर्व मनाइन्छ। आफ्ना नाता कुटुम्ब, ठुलाबडा, मान्यजनहरु बाट टिका तथा जमरा लगाई आशिर्वाद ग्रहण गरिन्छ । आफ्नो क्षमता अनुसार मिठो खाने खुवाउने, राम्रो लाउने, घर आँगन, बाटो घाटो, गाऊँटोल सफा सुग्गर राख्ने जस्ता कार्य यहि दशैंमा गरिन्छ । नेपाल कृषि प्रधान देश हो। यस समयमा कृषक एक किसिमले पुर्ण रुपमा खाली भएको हुन्छ । यसै खुसीको खुसीको अवसरमा नै भगवान को कृपा मानी देवी देवताको पूजा गरी दशैंलाई अरु बिशेष रुपमा मनाइन्छ । विभिन्न किसिमका रमाइलो गर्ने, पिङ् खेल्ने, साथी सँगी आफन्तहरु सँग भेटघाट गर्ने हुँदा एक अर्कामा भाईचाराको सम्बन्ध बढ्दै जाने गर्दछ । विजया दशमी विशेष चाड भएकोले सयाैं कोष टाढा रहेका आफन्तहरु पनि परिवार सँग मिल्न यहि दशैं को समयलाई उत्तम मान्दछन ।