कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गर्नुभएका जमाल अहमदले नेपाली कांग्रेसले मुस्लिम समुदायको भावना बुझ्न नसकेको र यो समुदायको लागि केही काम नगरेकोले सो पार्टीमा बस्न उचित नभएकोले नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा आजै देखि लाग्ने समेत बताउनुभयो।
वालिङका मुस्लिम नेता एवं दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश
२०वैशाख २०७९, वालिङ : नेपाली कांग्रेस परित्याग गरि वालिङका मुस्लिम नेताहरू एमालेमा प्रेवश गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समिति सदस्य जमाल अहमद (बाबु जमालको) नेतृत्वमा नेपाली कांग्रेस सर्मथित दर्जनौ नेता एवं कार्यक्रताहरु आज वालिङ नगरपालिका वडा नम्बर ८ मा आयोजित एक कार्यक्रमकाबिच एमालेमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले स्वागत गर्नुभएको थियो ।
कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा हबिव खाँन, यासिन खाँन, सलाउद्धिन मिया, मुहमद आलम, नुरआलम सँयद लगायतका रहनुभएको छ । यसै गरी वालिङ ८ मास्की डाँडाबाट नेपाली कांग्रेस परित्याग गरि रन बहादुर मास्की राना, शंकर एसके जित बहादुर मास्की, लक्षुमण मास्की, कमल गुरुङ र चापाकोटबाट कृष्ण भण्डारी नेपाली कांग्रेस चपाकोट वडा नम्बर १ तरुण दलका सचिव दुर्गा भण्डारी लगायत कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको नेकपा एमाले वालिङ नगर कमिटीले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गर्नुहुने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने समेत बताउनुभयो । नेतृ अर्यालले राष्ट्रिय दायित्व पुरा गर्न एमालेको जित आवयश्क भएको बताउदै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सबै आआफ्नो ठाँउबाट जुटन आग्रह गर्नुभयो । गठबन्धनको लागि एमाले एक्लै काफि रहेको बताउदै एमाले सचिव अर्यालले राष्ट्रिय राजनीतिबाट एमालेलाई पाखा लगाउने कसैको तागत नभएको बताउदै फेरिपनि एमाले देशको पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्नुभएको थियो।
एक फरक प्रसंगमा पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले विकास बजेट रोकेर अफबाह फैलाउनेहरुर्ला जनताले चिनिसकेको बताउदै अब अरुलाई दोश देखाएर उम्कीने अवस्था नभएको र जनता सचेत भइसकेकाले अहिले देशैभर एमाले प्रवेशको लहर चलेको समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले स्याङ्जाका उपाध्यक्ष एवं वालिङ नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका एमाले नेता कृष्ण खाँणले एमाले विजयी भएपछि सबै जातजाती र समुदायको भावना अनुसार काम गर्ने बताउदै नेकपा एमालेका सबै उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरेर आसन्न निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एस परित्याग गरि सोमबार एमाले प्रवेश गर्नुभएका विद्यार्थी नेता मेघनाथ चापाई, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल एमालेकाे तर्फबाट वालिङ ८ का वडा अध्यक्षका उम्मेद्वार दामाेदर तिवारी लगायतले बोल्नुभएको थियो ।(गण्डकी समाचार)