एमालेको नवौं जिल्ला अधिवेशन : सर्वसम्मतिलाई प्राथमिकता

चैत २२, २०८०


२२ चैत्र २०८०, बिहीवार

नेपाल कम्युनिस्ट पार्टी एमाले, स्याङ्जाको नवौं जिल्ला अधिवेशन यही चैत्र २३ र २४ गते स्याङ्जा जिल्लाको सदरमुकाममा हुने भएको छ। स्याङ्जा सिटीहलमा हुने अधिवेशनको समुद्घाटन पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के.पी. ओलीले शुक्रबार दिउँसो १ बजे गर्ने नवौं अधिवेशन , प्रचारप्रसार समितिका संयोजक विश्व पौडेलले जानकारी दिए।

अधिवेशनमा जिल्लाका ११ वटा पालिकाका ९७ वटा वडा कमिटीहरु, जनसङ्गठनहरुको प्रतिनिधित्व हुनेगरी कूल ६ सय ९ जना प्रतिनिधि रहने पार्टीका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए। महिला, जनजाति, उत्पीडित समुदाय, तथा युवाहरुको प्रतिनिधित्वलाई महत्वकासाथ लिइएको बताउँदै पार्टी अध्यक्ष गैह्रेले जिल्ला कमिटीमा १५ प्रतिशत युवा सहभागितालाई सुनिश्चित गरिएको जानकारी दिए।

नवौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित गर्नेछ । कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिवमा २ जना पदाधिकारी एवम् बाँकि १ सय जना सदस्य रहने छन् । नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मतीलाई प्राथमिकता दिई पार्टी एकता र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाइने पार्टीले जनाएको छ।

जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै पार्टी अध्यक्ष पारसले नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन आम समुदाय, पत्रकार, उद्योग व्यवसायी, अन्य राजनीतिक दलहरू युवा, महिला लगायतका शुभेच्छुकलाई आग्रह गरेका छन्। अधिवेशनलाई संचारकर्मी मैत्री बनाइने बताउँदै प्रचारप्रसार संयोजक पौडेलले सभ्य र भव्य रूपमा सम्पन्न गर्न १ सय १ सदस्यीय प्रशिक्षित स्वयंसेवक परिचालन गरिने जानकारी दिएका छन्।

वि.सं. २००६ सालमा स्थापित भएको नेकपा एमाले स्याङ्जा जिल्लामा भने २०१६ साल फागुनदेखि संगठित रूपमा स्थापित भएको थियो। जिल्लामा करिब १० हजार पार्टीका संगठित कार्यकर्ताहरू रहेका छन्।