निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प छैन: महासचिव पोखरेल

साउन १४, २०७९


१४ साउन २०७९,स्याङ्जा

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास र नागरिकको हितका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ । शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको बताउनुभएको छ।

वर्तमान गठबन्धनले देश नबन्ने ठोकुवा गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘वर्तमान सरकार लम्पसारवाद र अवसारवादको असल सेवक हो । दलाल, नोकरशाही र पूँजीवादीको हितमा मात्र काम गर्छ ।’ उहाँले गठबन्धनबाट बनेको सरकारसँग कुण्ठा, प्रतिशोध र प्रर्वाग्रह मात्रै रहेको आरोप लगाउनुभयो। अस्थिरताका नायक प्रचण्ड र कलांकितका पर्याय माधवकुमार नेपालका कारण शेरबहादुर देउवाको सरकार टिकेको उहाँको दाबी छ।

उहाँले साना पार्टीको किंगमेकर दम्भ, नेपाली कांग्रेस र माओवादीलाई परास्त पार्न आगामी प्रदेशसभा र संघको निर्वाचनमा एमालेलाई जिताउन अपरिहार्य रहेको बताउनुभयो।