निवर्तमान नगर प्रमुख अधिकारीलाई पार्टीद्वारा कारबाही

असार ३२, २०७९


स्मार्ट अखबार संवाददाता
३२ असार २०७९

नेकपा एमाले स्याङ्जाले गल्याङ नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई गत स्थानीय चुनावमा पार्टी हित विपरीत गलत भूमिका खेलेको आरोपमा कारबाही गरेको छ ।पटकपटक स्पष्टीकरण सोध्दा पनि अधिकारीले तोकिएको समयसिमा भित्र जवाफ नदिएकाले पार्टीले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो ।उहाँलाई असार ३१ गते पार्टी अनुशासनको कारबाही गरिएको जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो ।

यही असार १३ गते बसेको पार्टी जिल्ला कमिटिको बैठकले निर्वाचनमा गलत भूमिकाको आशंका गरिएका नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने विषयमा निर्णय गरेको थियो । गल्याङ्ग नगरपालिका स्तरीय समिक्षा बैठकमा उठेको विषय र अन्य धेरै प्रमाणहरुका आधारमा अधिकारीमाथि गम्भिर सवालहरु उठेको हुँदा ती सवाल तथा प्रश्नहरुमा स्पष्ट, यथार्थपरक र सन्तोषजनक जवाफ ३ दिनभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन २०७९ असार २० गते पार्टीले पत्र पठाएको थियो । उक्त पत्रको जवाफ नआएकोले पुनः असार २८ गते स्पष्टीकरणको लागि २ दिन समयसिमा राखी दोस्रो पत्र पठाइएको थियो । सो पत्रको पनि तोकिएको समयसिमा भित्र अधिकारीले जवाफ नदिएपछि पार्टी विधान अनुसार उहाँलाई पार्टीको जिल्ला सदस्य र अन्य सम्पूर्ण पदीय जिम्मेवारीबाट ६ महिनाको लागि निलम्बन गरिएको नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो ।