संविधान दिवसको अवसरमा स्वास्थ्य सचेतना तथा सरसफाई

असोज ०३, २०७९


स्मार्ट अखबार संवाददाता
३ असोज २०७९

नेपाली काँग्रेस भीरकोट नगर कार्य समितिले संविधान दिवसको अवसरमा नगरपालिकाको बजार क्षेत्रको सरसफाइ एवं डेंगु रोग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यको प्रमुख तथा नगर उपप्रमुख भगवती रेग्मी अर्यालको समेत सहभागिता रहेको नगर सरसफाई तथा डेंगु रोग सचेतना कार्यक्रममा वडा अध्यक्षहरूको पनि सहभागीता थियो।

संविधान दिवसको महत्त्वको चर्चा गर्दै नगर प्रमुख कर्माचार्यले स्वास्थ्य र सरसफाइ सम्बन्धि महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा नगर कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो। संविधान दिवसको अवसरमा नगरवासीलाई शुभकामना दिंदै उहाँले मुलुकको लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकले संविधान पाएको बताउनुभयो।

कार्यक्रममा नगर उपप्रमुख रेग्मीले भीरकोट सरसफाई अभियानमा जुटेकोमा नेपाली काँग्रेसलाई धन्यवाद व्यक्त गर्नुभयो। । डेंगु रोगले पछिल्लो समय समस्या बनाएको स्मरण गराउँदै उपप्रमुख रेग्मीले आफ्नो घर आँगन, वरीपरि सरसफाई गर्न सबै नगरबासीलाई अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा भीरकोट नगरपालिकाको बयरघारी बजार क्षेत्रभित्र सरसफाई गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि, सामाजिक अगुवाहरु, उद्योगी व्यवसायी, कर्मचारी लगायतको सहभागिता रहेको थियो। डेङ्गु रोगबाट बच्ने उपायहरूको विषयमा माइकिङ गरी स्वास्थ्य सचेतना समेत प्रदान गरिएको नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) जानकारी दिनुभयो।औपचारिक कार्यक्रम नेपाली काँग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) को सभापतित्व, उपसभापति जगदिशप्रसाद कोइरालाको स्वागत र सचिव तारा अर्यालको संचालनमा समापन गरिएको थियो । नागरिकको स्वास्थ्य प्रती सचेत बन्दै सिर्जनात्मक र व्यवहारिक तरीकाले बजार सरसफाइ र डेङ्गु रोगसम्बन्धी सचेतना फैलाउँदै संविधान दिवस मनाइएको नेपाली काँग्रेस भीरकोटले जनाएको छ।