कसरी सम्भव भयो भीरकोटमा कांग्रेसको ऐतिहासिक विजय
१२ जेठ २०७९ ,शुक्रवार
स्थानीय निर्वाचन २०७९ को नतिजा सार्वजनिक भैसकेको छ । देशभरको चुनावी नतिजा केलाउँदा नेपाली कांँग्रेसले ३२८ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै नेकपा एमालेले २०५, माओवादी केन्द्रले १ सय २१ पालिकामा प्रमुख पद जितेको छ । जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशिल, तमलोपा र विवेकशिल साझाले १/१/ र स्वतन्त्रले १३ पालिकामा प्रमुख पद जितेका छन् । बाजुराको बुढिगंगा नगरपालिका बाहेक अरु सबै पालिकाको नतिजा आएको हाे । देशैभरको चुनावी नतिजा हेर्दा नेपाली कांँग्रेसले आफ्नो मुख्य प्रतिस्पर्धी नेकपा एमालेको अहमतालाई चुनावी मैदानमा टुक्राइदिएको छ ।
स्याङ्जाको चुनावी नतिजा हेर्दा गाउँपालिकाहरुमा नेकपा एमालेको वर्चश्व देखिएको छ भने नगरपालिकामा नेपाली कांग्रेसको वर्चश्व देखिएको छ । वालिङ नगरपालिकाको प्रमुख पद एमालेको पोल्टामा पर्यो भने अर्जुनचौपारीमा प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जित्यो । भीरकोटको चुनावी नतिजालाई विश्लेषण गर्दा नेपाली कांग्रेसको जनमत भीरकोटमा सर्वाधिक रहेको पुष्टि भएको छ । तुलनात्मक रुपमा नेपाली कांँग्रेसको कमजोर ठानिएको उम्मेदवार र नेकपा एमालेको सबैभन्दा बलियो र लोकप्रिय ठानिएको उम्मेदवार उठाउँदा समेत नगर प्रमुखमा ८३५ मत र उपप्रमुखमा २२६९ मतान्तर हुनले यो पुष्टि भएको छ । गत २०७४ को निर्वाचनमा झिनो मतान्तरले गुमाएका वडाहरुको चुनावी नतिजा आफ्नो पोल्टामा पार्दै नेपाली कांँग्रेसले नेकपा एमालेलाई भीरकोटमा झण्डै क्लिन स्विप गर्यो । ९ वडा रहेको भीरकोटमा वडा नं. ६ को वडा अध्यक्ष बाहेकको सबै वडामा सबै सिटमा लोकप्रिय मतका साथमा विजय हाँसिल गरेको कांग्रेसको सफलताका पछाडी धेरै कारणहरु छन् । यसैगरी नगर प्रमुख र उपप्रमुख पदमा समेत भारी मतान्तरले विजयी भएको नेपाली कांग्रेसले नेकपा एमाले भीरकोटलाई हल्लाका भरमा मात्रै चुनाव जित्न सकिँदैन, बलियो संगठन, युवाहरुको सही परिचालन आवश्यक छ भन्ने राम्रो सबक सिकाएको छ । स्थानीय तहका ४७ पदमध्ये ४६ वटा पदमा विजय हाँसिल गरेको काँग्रेसको ऐतिहासिक जीत कसरी सम्भव भयो ? यसका पछाडी धेरै कारणहरु छन् । चुस्त दुरुस्त र समर्पित निर्वाचन परिचालन कमिटि, तहगत निर्वाचन परिचालन समिति, व्यवस्थित र संगठित भातृ संस्था परिचालन, प्रविधिमैत्री चुनाव प्रचार प्रसार, युवा संगठन र कार्यकर्ताहरुको प्रतिरक्षात्मक परिचालन, मतदाताको पहिचान र संरक्षण चुनावी सफलताका प्रमुख कारणहरु हुन् । यसका साथै व्यवहारिक र कार्यान्वयन योग्य चुनावी घोषणापत्र सफताको अर्को कारण हो ।
कांँग्रेसको चुनावी सफलताका पछाडी नेपाली कांग्रेसका नगर सभापति याम प्रसाद अधिकारी र तरुण दल भीरकोटका सभापति राजकुमार गुरुङको कार्य कुशलता, संगठन तथा नेता कार्यकर्ता परिचालनको अहम् भूमिका छ । कांग्रेसको ऐतिहासिक जितसँगै युवा नेताको रुपमा उदाएका याम प्रसाद अधिकारीको राजनीतिक उचाई थप चुलिएको छ ।