शीत भण्डारले अझै दिएन क्षतिपूर्ति, नगरपालिका बन्यो रमिते

असोज २८, २०७९


रवि थापा, स्याङ्जा
२८ असोज २०७९

बिज्ञापन

स्याङ्जाको भीरकोट नगरपालिकामा गत वर्षको साउन महिनामा नगरपालिकाले ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित श्याम ढुङ्गनाको शीत भण्डारमा भीरकोटका किसानहरुलाई निःशुल्क आलु राख्न आव्हान गर्यो । किसानहरुले धमाधम नगरपालिकाको कुरालाई विश्वास गरेर पालिकाले नै दिएको २५ रुपैँयाको बोरामा आलु राखेर कोल्ड स्टोरमा पठाएपछि किसानहरु पालिकाले आलु सुरिक्षत राखिदियो भनि ढुक्क भए । जब मंसिर लाग्यो किसानहरु आफूले राखेको आलु लिन कोल्ड स्टोर धाए ।

विज्ञापन

कोल्ड स्टोर पुग्दा आलुको बीउ कुहिएको अवस्थामा देख्दा किसानहरुको मनमा चिसो पस्यो, यता खेतमा आलु लगाउने समय भएको छ उता लगाउने आलु कुहिएकाे अवस्थामा रहेकाे किसान बताउँछन्। भीरकोटका किसान नगरपालिकाले आलुको केहि क्षतिपूर्ति दिन्छ कि भनेर बारम्बार नगरपालिका धाए । जनताको गुनासो आएपछि पालिकाले तत्कालको लागि अनुदानमा प्रतिकिलो ३० रुपैँया किसानलाई केही मात्रमा आलुको बीउ दियो । तर आफूहरुले घरबाट पठाएको जस्तो गुणस्तर बिउ नपाएको भीरकोट ५ पकानका पिडित दमोदर तिवारी बताँउनुहुन्छ । बीउ आलु बिग्रिएको पनि करिब एक वर्ष भइसक्दासमेत शीत भण्डार र नगरपालिकाले उचित क्षतिपूर्ति नदिएकोमा आफूजस्तै यहाँका सबै किसान मर्कामा परेको तिवारीले बताउनुभयो ।

पालिकाको विश्वास मानेर आफूले कोल्ड स्टोरमा २५ किलो आलु राखेको पकानका अर्का पिडित डाँसिनारायण तिवारी बताउनुहुन्छ । उहाँका अनुसार आलु कुहिएपछि नगरपालिकामा क्षतिपूर्तिको लागि जाँदा निर्वतमान नगरप्रमुख छायाराम खनालले आफूहरुलाई क्षतिपूर्ति दिलाउने बाचा गरेपनि उहाँको कार्यकालपछि त्यो विषयमा पालिकाले चासो नदिएको गुनासो गर्नुभयो।

यता निर्वतमान नगरप्रमुख छायाराम खनालले आफू पालिकामा हुदाँ उक्त व्यक्तिले ८ लाख रुपैँया क्षतिपूर्ति दिने कबोल गरेको बताउनुहुन्छ । तर आफ्नो कार्यकाल सकिएपछि त्यस विषयमा आफू जानकार नरहेको खनालको भनाइ छ ।



विज्ञापन

अर्का स्थानीय पिडित रमेश अर्यालको व्यथा पनि उस्तै छ । नगरपालिकाले हामीलाई तपाईहरुको आलु सुरक्षित राख्छौँ भनेर हामीलाई विश्वास दिलायो तर आलु लगाउने बेला आलु लिन जाँदा रोप्न नमिल्ने खालको पाइएको अर्याल बताउनुहुन्छ । “हामीले कृषि विज्ञको टोलिलाई कोल्ड स्टोरमा लगेर त्यी आलुहरु देखाइयो, उनीहरुले त्यो आलु नलगाउन सल्लाह दिएका थिए,” उनले भने । मैले व्यक्तिगत रुपमा त्यहाँ ४ बोर आलु राखेको थिए । उक्त शीत भण्डारले २०७९ वैशाख ३० गतेसम्म सबैलाई आलुको क्षतिपूर्ति उपल्बध गराउछु भनेर बाचा गरेको थियो तर अहिले के गर्दै छ त्यसबारे मलाई केही थाहा छैन ।

कोल्ड स्टोरका संचालक श्याम ढुङ्गनाले स्टोरमा राखेको आलु ८० प्रतिशत नकुहिएको बताउनु भएको छ । उहाँका अनुसार नगरपालिकालाई आफूले १० टनभन्दा बढी आलु नराख्ने भन्दा बढी राख्दा उक्त आलुहरु बिग्रिएको हो । “भीरकोट नगरपालिका र किसानहरुलाई नबिग्रिएको आलु लैजान र बाकीँ आलुको क्षतिपूर्ति दिने भन्दापनि दुबै पक्ष मानेनन्, तर तिनै आलु हामीले ३५ केजी लगाउँदा दुई गुणा उत्पादन भयो,’’ उहाँले भन्नुभयो, “नबिग्रिएको आलु लैजान र बिग्रिएको आलुको क्षतिपूर्ति दिन खोज्दा किसानले नमानेपछि ढिलो भएको ढुङ्गाना बताउनुहुन्छ । तीन पक्षबीच भएको वार्तामा किसानलाई क्षतिपूर्ति दिने सहमति भएको हो, केही ढिलो भएको छ क्षतिपूर्ति नदिने पक्षमा छैनौँ, क्षतिपूर्ति दिने छौँ।’’

यता भीरकोट नगरपालिकाका पूर्व कृषि शाखा प्रमुख द्रोण राज काफ्लेले आफू पालिकामा हुदाँ कार्यालयले शीत भण्डारका नाममा क्षतिपूर्ति उपलब्ध गराउनका लागि पत्राचार गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “शीत भण्डारका संचालक ढुङ्गनाले २०७९ वैशाख ३० गतेसम्म सबै पिडितलाई क्षतिपूर्ति दिन्छु भन्नुभएको थियो । म त्यहाँबाट सरुवा भए त्यसपछि मलाई त्यहाँको पछिल्लो अवस्था थाहा भएन ।’’

भीरकोटका शीत भण्डारमा आलु राखेका अधिकांश किसानहरुको व्यथा यस्तै छ । एक वर्ष बितिसक्दा पनि आफूहरुले क्षतिपूर्ति नपाउँदा उनीहरु चिन्तित छन् । स्थानीय सरकार र शीत भण्डारका संचालकले किसानहरुलाई क्षतिपूर्ति दिन्छौँ भनेर बारम्बार आश्वासन मात्र दिएर कृषकको समस्याप्रती रमिते बनेको कृषकहरूको गुनासो छ।