बालबालिकामा साइबर कुलतको खतरा

साउन १८, २०७९


१८ साउन २०७९
युवराज पौडेल

दशैँ र तिहारको बिचमा विद्यालयको लामो छुट्टीमा सहर बसेर पढ्ने छोरा गाउँ आयो । वरिपरि अरु दाजुभाइका छोराछोरी पनि जम्मा भएका थिए । सहरमा बस्दाबस्दै दिक्क भएका छोराछोरी गाउँमा आउँदा स्वभाविक रूपमा खुशी देखिन्थे । गाउँमा ‘वाइफाइ’ भएकाले पनि उनीहरुको मुहारमा खुशी छाएको स्पष्ट देखिन्थ्यो । सबैका प्रायः आइप्याड, ट्याब, स्मार्ट फोन हात हातमा थिए । उनीहरु बिहान उठेबाट लगभग केही खाने, यताउति गर्ने समयबाहेक मुन्टो गाडेरै बस्थे । के हेरेका रहेछन् भनेर विचार गर्दा ‘पबजी’ र ‘फ्रि फायर’ भन्ने गेम रहेछ । गेममा तिनीहरु यसरी डुबिरहेका थिए कि केही काम गराउँदा पनि रिसाउने, झर्किने जस्तो व्यवहार देखाइरहेका थिए । यो अवस्था आज लगभग सबैतिर व्यप्त छ । विद्यालयमा पनि बालबालिकाहरुले आजकल यस्तै गेमका विषयमा कुरा गरेको मैले सुनेको छु । पढाइप्रति तिनको रुचि छैन । तिनीहरु एकान्तमा बस्ने र इन्टरनेटका गेमहरुमा डुब्ने गर्छन् ।
इन्टरनेट तथा सामाजिक सञ्जालको प्रभाव र प्रयोग विश्वव्यापी रुपमा बढ्दो छ । यो आजको प्रविधिमैत्री दुनियामा असाध्यै आवश्यक छ । विज्ञान र प्रविधिबाट भित्रिएका प्रत्येक वस्तुका आफ्नै फाइदा र बेफाइदा हुन्छन् । इन्टरनेट र सामाजिक सञ्जालका धेरै फाइदा र उपयोगिता छन् । यसबाट विद्यार्थीले प्रशस्त ज्ञान र सीप आर्जन गर्न सक्छन् । यसमा जे खोज्यो त्यही पाइन्छ । विद्यार्थीले ‘इलर्निङ’ बाट आफूलाई सक्षम बनाउन सक्छन् । ‘गुगल सर्च’ बाट आवश्यक विषय खोजेर आप्mनो समस्या समाधान गर्ने ठूलो अवसर आजका विद्यार्थीलाई प्राप्त छ । ‘युट्युब’ मा थुप्रै सिकाइसँग सम्बन्धित भिडियोहरु हेरेर विद्यार्थीले आफm्नो पढाइसँग सम्बन्धित विषयवस्तुको जिज्ञाशा मेट्न सक्छन् । अनलाइन कोर्सहरु घरमै बसेर पढ्न सक्छन् । इबुक, इलाइब्रेरीमा पनि विद्यार्थीले धेरै कुरा प्राप्त गर्न सक्छन् । यी बाहेका पनि शिक्षा र सिकाइसँग सम्बन्धित थुप्रै एप्पसहरु निर्माण भएका छन् जसलाई घरमै बसेर विद्यार्थीले आरामसँग प्राप्त गर्न सक्छन् । तर यी कुराहरुतर्फ आजका धेरै बालबालिकाको ध्यान पुगेको देखिँदैन, न त हामी अभिभावक वा शिक्षकले नै ध्यान पु¥याउन सकेका छौँ ।
बेलायतमा अनलाइन उद्योगको निगरानी गर्ने एउटा समूह ‘अफकोम’ले टेलिभिजनमा भन्दा इन्टरनेट बालबालिकाहरुकामा लोकप्रिय भएको र उनीहरुले इन्टरनेटमा बढी समय बिताउने गरेको निष्कर्ष निकालेको थियो । ५–१५ वर्ष उमेर समूहका केटाकेटीले हप्ताको १५ घण्टासम्म इन्टरनेटमा बिताउने गरेको उक्त अध्ययनले देखाएको छ । नेपालमा पनि यो समस्या बढ्दो छ । घरघरमा अभिभावकको र स्कुलमा शिक्षकहरुको अहिले यही गुनासो छ । यसलाई हामीले सामान्य रुपमा मात्र लिनु हुँदैन । यो साइबर कुलत हो । यो लागु पदार्थ दुव्र्यसनीभन्दा पनि खतरनाक रहेको अध्ययनहरुले देखाएका छन् । कलिला र अबोध मष्तिस्कका बालबालिकाहरु गेममा मान्छेलाई गोली हानेर ढालिरहेका छन् । गेममा जति मान्छे मा¥यो उति लेभल बढ्दै जाने र उनीहरु खुसी हुँदै जान्छन् । एउटा कलिलो बालक जसलाई शान्ति, मैत्री, सद्भाव, मर्यादा, अनुशासन, संस्कार सिक्नुपर्नेमा उनीहरु मान्छे मार्ने कुरा सिकिरहेका छन् । के यो सामान्य विषय मात्रै हो ? यसले बालमनोविज्ञानमा पार्ने गम्भीर प्रभावको बारेमा के कहिल्यै हामीले सोचेका छौँ ? ‘पबजी’ र ‘फ्रि फायर’ जस्ता गेमबाट निर्माताहरुले त पैसा कमाएका होलान् तर हाम्रा बालबालिका ध्वस्त भइसकेको हामीले पत्तो नै पाएका छैनौँ । यी गेमहरुमा हुने नशामा ठूला मान्छेहरु त फँसेका छन् भने कलिला बालबालिका नफँस्ने भन्ने कुरै भएन । यसबाट बालबालिकाहरु लामो समय इन्टरनेटमा डुब्ने हुँदा उनीहरुको शारीरिक सक्रियता बिग्रिरहेको छ । उनीहरु अल्छी भइरहेका छन् । उनीहरुको व्यवहारमा नकारात्मक प्रभाव देखिइरहेको छ । यसबाट उनीहरुमा निराशा, बेचैनी र छटपटी बढ्छ । सुरुमा रमाइलो गर्न खेले पनि पछि उनीहरु साइबर कुलतमा फँस्दै जान्छन् । सामाजिक सञ्जालको बढी प्रयोगले बालबालिकामा नैराश्यता सिर्जना हुने ‘न्यान्सेट चाइल्ड एण्ड एडोलिसेन्ट हेल्थ’ नामक बेलायती संस्थाले गरेको एक अध्ययनले देखाएको छ । उक्त संस्थाले दश हजार बालबालिकामाथि गरेको अध्ययनपछि यस्तो निष्कर्ष निकालेको थियो । थुप्रै अध्ययनहरुले इन्टरनेटको आवश्यकताभन्दा बढी प्रयोगले बालबालिकाहरुमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ पनि बढ्ने देखाएका छन् । नेपालमा पनि यो स्थिति गम्भीर बन्दै गइरहेको छ । फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक आदिमा अनावश्यक समय बिताउँदा भविष्य निर्माण गर्ने बेलाका बालबालिकाहरुको उर्वर समय खेर गएको छ । त्यतिमात्र होइन, फेसबुक, म्यासेन्जरमा बालबालिकाहरुले गोप्य समाचार चुहाउने गरेका छन् । त्यही सूचनाका आधारमा ‘फेक आइडि’ बनाएर बालिकाहरुमाथि बलात्कार तथा अन्य यौन शोषणका घटना घटिरहेका छन् । बाल शोषण विरुद्ध आवाज उठाउने एक बेलायती संस्था ‘एनएसपीपीसी’ ले हालै बेलायतमा मात्रै बाल यौन शोषणका घटनाहरु ३१ प्रतिशतले बढेको र ९० प्रतिशत शोषणकर्ताहरुले इन्टरनेटको माध्यमलाई प्रयोग गरेको तथ्य सार्वजनिक गरेको छ । यसरी साइबर कुलत विश्वव्यापी समस्या बनिरहेको छ । थुप्रै देशहरुले यसको दुष्प्रभावबाट बालबालिकालाई बचाउन थुप्रै कामहरु गरिसकेका छन् । हाम्रा बालबालिकाहरु ‘साइबर बुलिङ’ को शिकार भइरहेका छन् । नेपाली समाजमा मेसेन्जर, फेसबुक आदी मार्फत् चिनजान हुने, नजिकिने, भेट्ने, सम्बन्ध स्थापित गर्दै जाने र विवाह गर्ने प्रवृत्ति पनि बढ्दो छ । घटनाक्रमहरुले यही देखाएका छन् ।
अब ‘साइबर कुलत’ का बारेमा नेपाली समाजमा व्यापक जनचेतना नफैल्याउने हो भने यो एउटा डरलाग्दो महामारी बन्ने खतरा छ । अभिभावकहरुको पनि यसमा सकारात्मक भूमिका आवश्यक छ । एकैछिनको मायाप्यार देखाउन वा भुलाउन मोबाइल वा आईप्याड दिने पछि कुलतमा फँसिसकेपछि कराउने प्रवृत्तिले समस्याको समाधान हुँदैन । इन्टरनेटको प्रयोग अभिभावककै निगरानीमा हुनुपर्छ । बालबालिकाहरुलाई इन्टरनेटमा के चलाउने, के नचलाउने, कस्ता सामग्री हेर्ने कस्ता नहेर्ने, साइबर कुलत के हो, यसका असरहरु के हुन् आदि सम्बन्धमा अभिभभावक तथा शिक्षकहरुले जानकारी दिनुपर्छ । उनीहरुलाई इन्टरनेट प्रयोगका फाइदा र बेफाइदाका सम्बन्धमा जानकार बनाउनुपर्छ । गेमहरु अझ ‘पबजी’ जस्ता खतरनाक गेमहरु सरकारले नै प्रतिबन्ध लगाउने व्यवस्था गर्नुपर्छ । आजका हाम्रा बालबालिकाहरु बिग्रिए भने आजको नेपाल मात्र होइन, भोलिको नेपालको परिदृश्य पनि अवश्य सुखद हुने छैन ।