बाल दिवसको अवसरमा वालिङमा कविता प्रतियोगिता

भदौ २९, २०७९


स्मार्ट अखबार संवाददाता
२९ भाद्र २०७९

“बालमैत्री समाजकाे आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस स्याङ्जा जिल्लाभर विविध कार्यक्रम गरि मनाइएको छ।यसै अवसरमा जिल्ला बाल क्लब स्याङ्जाको आयोजना, वालिङ नगरपालिकाको समन्वय र सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोगमा वालिङ नगरपालिकामा पालिकास्तरीय कविता प्रतियोगिता आयोजना गरियो। आज वालिङ नगरपालिकाको सभाहलमा संचालित वालिङ नगरपालिकास्तरीय अन्तर माध्यमिक “बालअधिकार” विषयक कविता वाचन कविता प्रतियोगितामा आस्था पराजुली ( साइनभिलेज एकेडेमी, वालिङ ) प्रथम, गरिमा के.सी. ( पुर्णामृत भवानी मा. वि., फुलबारी ) द्वितीय , सुजन रानामगर ( बालसिद्व मा. वि., केवरेभञ्ज्याङ् ) तृतीय र ताराबहादुर सुनार ( लक्ष्मी मा.वि., बोदीभञ्ज्याङ् ) सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो।

जिल्ला बाल क्लब स्याङ्जाकि अध्यक्ष स्वस्तिका पाण्डको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वालिङ नगरपालिकाको नगर उपप्रमुख श्री कविता तिवारी गैह्रेको उपस्थिति रहेको थियोे ।
गरिमा सुवेदी ( राष्ट्रिय मा.वि., आमडाली, कक्षा – १२ ) द्वारा स्वागत मन्तव्य सहित कविता प्रस्तुत गरिएको कार्यक्रममा निर्णायकको भूमिका युवाकवि मिलन समीर र वालिङ नगरपालिकाकि शिक्षा अधिकृत दुर्गाकुमारी न्यौपानेले निर्वाह गर्नुभएको थियोे ।

वालिङ नगरपालिकाको शिक्षा अधिकृत गीता पाठकले उद्घोषण गर्नुभएको कार्यक्रममा वालिङ नगरपालिका वडा नम्बर – २ का वडा अध्यक्ष पोतप्रसाद लम्साल, लक्ष्मी मा.वि. बोदीभञ्ज्याङ्कि प्रधानाध्यापक सीता गौडेल गैह्रे, युवाकवि मिलन समीर र सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख ईश्वरीप्रसाद रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सोही कार्यक्रममा वालिङ नगरपालिका नगर कार्यपालिकाकाे आयाेजनामा वालिङ नगरपालिकामा रहेका संस्थागत र सामुदायिक विद्यालयबाट S.E.E. – 2078 मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी र वालिङ नगरपालिकाका उत्कृष्ट खेलाडीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियोे ।