वडा-वडामा बालबालिकाको आवाज सुन्दै भीरकोट

पुष २८, २०८०


स्मार्ट संवाददाता, भीरकोट

 २८ पुष २०८०, शनिबार 

स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालमैत्री गतिविधिमा बढोत्तरी हुँदै गएको छ।  विगतमा नगर केन्द्रित सिमित अतिरिक्त क्रियाकलाप र बालमैत्री गतिविधि हुँदै आएकोमा आर्थिक वर्ष २०८०/८१ मा वडाहरूले पनि बालबालिकाका लागि बजेट विनियोजन गर्न थालेपछि वडावडामा बालबालिका लक्षित गतिविधि हुन थालेका हुन्।

वडा नं ८ को कार्यालयले बालबालिकाहरूको आवाज सुन्न र बालमैत्री गतिविधिलाई तिब्रता दिन यही पुस २० गते शुक्रबार ” स्थानीय सरकार संचालनमा बालबालिकाको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। वडाभित्र स्थायी बसोबास गर्ने बालबालिका र अभिभावकहरूको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा सहभागी बालबालिकाहरूलाई खेलकुद सामाग्री र डस्टविन समेत वितरण गरिएको थियो।

यसैगरी बालबालिकाको सक्षमता विकास गर्न र उनीहरूको आवाज सुन्न वडा नं ७ को वडा कार्यालयले २८ गते शनिबार  “बालबालिकाप्रति नगरपालिकाको भूमिका ” विषयक वक्तृत्वकला प्रतियोगिता भीरकोट नगरपालिका  वडा कार्यालयमा सम्पन्न गरेको छ। वडा बालसञ्जालको आयोजना  र  वडा कार्यालयको  सहजीकरणमा सम्पन्न भएको  कार्यक्रममा बालबालिकाको आवाज सुन्न नगर उपप्रमुख भगवती रेग्मी अर्याल पनि उपस्थित थिइन्।

वडा बालसञ्जालकी अध्यक्ष नन्दनी अर्यालको अध्यक्षतामा  अश्वीना के.सी. को संचालन  गरेको  कार्यक्रममा वडाध्यक्ष ताराप्रसाद अर्याल,नगर  बालमैत्री सहजकर्ता  विष्णुमाया काफ्ले,वडा सदस्यहरू,  अभिभावक,  समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी र बालबालिकाको सहभागिता रहेको थियो।

१६ जना बालबालिकाको सहभागिता रहेको  वक्तृत्वकला प्रतियोगितामा निकिता थापा प्रथम,  प्रकृति रोका द्वितीय ,  स्वीकृति रेग्मी  तृतीय भएका छन्  भने   सान्त्वना स्थान सक्षम रोकाले हासिल गरेका छन्। कार्यक्रममा विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने  सहभागी हरेक बालबालिकालाई  शैक्षिक सामग्री प्रदान गरिएको थियो।प्रतियोगितामा निर्णायकको भूमिका शिक्षा शाखाका प्रतिनिधि  विष्णु भट्टराई , शिक्षकहरु कृष्णप्रसाद पौडेल र मिलन समीरले निर्वाह गरेका थिए।

वक्तृत्वकला प्रतियोगिताको समापनसँगै आज वडामै “वडा अध्यक्षसँग  बालबालिका” कार्यक्रम पनि सम्पन्न गरिएको छ।बालबालिकाले बालमैत्री गतिविधि र  वडाबाट सम्पादन हुने कामबारे गरेका  प्रश्न र गुनासाहरुको जवाफ वडा अध्यक्ष अर्यालले दिएका थिए। बालबालिकाको आवाज सुन्नु बालमैत्री स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउँदै अध्यक्ष अर्यालले बालमैत्री गतिविधिलाई बालबालिकाले अनुभूति गर्ने गरि संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

विज्ञापन
जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी