चापाकोट नगरपालिकाको ‘डम्पिङ साइड’ बन्दै कालीगण्डकी नदी

भदौ २३, २०७९


सुनिल न्यौपाने/ कमल पाण्डे  , चापाकोट

सरोकारवाला  निकायले चासो नदिँदा कालीगण्डकी नदी दिनप्रतिदिन प्रदुषित हुँदै गएको छ। चापाकोट नगरपालिका ९ बत्राघाट लगायत अन्य नदी किनारलाई नै चापाकोट नगरपालिकाकाले सुन्तलीटार लगायत नगरपालिका अन्तर्गतका अन्य बजारको फोहोर फ्याक्ने डम्पिङ साइड बनाउँदा प्रदुषित हुँदै गएको हो।

चापाकोट नगरपालिका ९ कि स्थानीय आकृती डोटेलले कालीगण्डकी नदीलाई प्रदुषित हुनबाट बचाउन मुख्य गरी चापाकोट नगरपालिकाले नदीलाई डम्पिङ साइड बनाउन नहुने बताउनुभयो । “विश्व सम्पदा सुचिमा सुचिकृत गर्न खोजेको यस कालिगण्डकी नदी,अनि डाइभर्सन रोक्नपर्छ भनेर चर्को आवाज उठाउने हामी स्वयं यस्तो फोहोर नदीको किनारमा फाल्न सुरु गरियो भने यसले नराम्रो सन्देश प्रवाह गर्छ। उहाँले भन्नुभयो, ” कालीगण्डकी नदी प्रदुषित हुँदा नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई समेत असर परेको छ।त्यसैले वातावरण र नदीलाई असर नगर्ने गरि उचित ठॅाउमा दिगो व्यवस्थापन गर्न नगरपालिका सहित यस क्षेत्रका वातावरण विज्ञहरुको पनि बेलैमा ध्यान जाओस्।”

चापाकोट नगरपालिकाले समेत बजार क्षेत्रको सम्पूर्ण फोहोर नदी क्षेत्रमा नै फाल्ने गरेको र बजारका अन्य स्थानीयवासीले समेत विभिन्न वस्तु, मरेका घरपालुवा चौपाया जनावर पनि नदी किनारमा फाल्ने कार्य निरन्तर भएको हुँदा नदी क्षेत्रमा प्रदुषण बढ्दै गएको स्थानीय भाईराम बिश्वकर्माले बताउनुभयो । “नगरपालिकाकाले डम्पिङ साइड पनि नदी किनारमै, घाट पनि त्यही अनि कसरी कालीगण्डकी नदी प्रदुषित हुनबाट जोगिन्छ त?’ उहाँले भन्नुभयो, ‘चापाकोट नगरपालिकाले आधुनिक घाटको व्यवस्था मिलाउनु पर्‍यो, अनि बत्राघाटको फोहोरको उचित व्यवस्थापन हुनुपर्‍यो।’

कालीगण्डकी नदीको पानी पवित्र मानेर नुहाउने तथा नदीको पानी स्थानीय हिन्दू मठमन्दिरमा चढाउने कार्य हुँदै आएको छ। नदी क्षेत्र फोहोर तथा प्रदुषित बन्दा अहिले कालीगण्डकीको पानी प्रयोग गर्न समेत कम हुँदै गएको छ।कालीगण्डकी नदी किनारलाई सफा र सुन्दर बनाउन नदी किनारमा फोहोर फाल्न रोक लगाउनु पर्ने र नदीको बारेमा सचेतना जगाउनु पर्ने स्थानीय नवीन भट्टराईले बताउनुभयो। “नगरपालिकाकाले मात्र अभियान चलाएर हुँदैन,” उहाँले भन्नुभयो , “नागरिक पनि सचेत बने कालीगण्डकी नदी किनारमा सफा हुनेछ।”

कालीगण्डकी नदी किनारमा पालिकाले फालेको फोहोर

चापाकोट नगरपालिका ९ का वडाअध्यक्ष कृष्ण सुबेदिले नदीलाई हराभरा र सफा बनाउन पर्ने बताउनुभयो। “नदी क्षेत्रमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न र प्रदुषण रोक्न चापाकोट नगरपालिका, स्थानीय प्रशासन र नगरका नागरिक समाजको मुख्य दायित्व हुन आउँछन्,’ उहाँ ले भन्नुभयो , ‘यसतर्फ सबैले सचेत हुने बेला आएको छ।’



कालीगण्डकी नदी तटीय क्षेत्रको तल्लो भेगमा खानेपानीको समेत मुख्य स्रोतको रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ। माथिल्लो क्षेत्रमा नदी प्रदुषित बन्दै गएकोमा तल्लो क्षेत्रका सर्वसाधारण समेत चिन्तित बनेका छन्।