भीरकोटका संस्थागत विद्यालयहरूमा एकैपटक परीक्षा

असार १७, २०७९


स्मार्ट अखबार संवाददाता
१७ असार २०७९

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा रहेका सबै संस्थागत विद्यालयहरूमा एकैपटक परीक्षा हुने भएको छ। नगरपालिकामा रहेका संस्थागत विद्यालयहरूबिच स्वस्थ्य प्रतिस्पर्धा गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न गठन भएको संस्था क्लष्टर फर एकेडेमीक डेभलपमेन्ट (CAD) को पहलमा परीक्षा लगायतका शैक्षिक गतिविधिहरूमा एकरूपता ल्याउने प्रयास गरिएको हो। शुक्रबार भू.पू. सैनिक कम्युनिटी एकेडेमीमा बसेको CAD को बैठकले परीक्षालाई विश्वासनिय र व्यवस्थित बनाउन विषयगत शिक्षकहरूलाई पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ग्रीड बमोजिम प्रश्नपत्रहरू निर्माण गर्ने जिम्मेवारी समेत तोकेको छ। “विषयगत समिती गठन गरेर प्रश्नपत्र निर्माणको जिम्मेवारी तोक्दै र वार्षिक शैक्षिक कार्ययोजना समेत निर्माण गरेका छौं।” बालोदय मा.वि. का प्रिन्सिपल अमृत अर्यालले भन्नुभयो, “यसले संस्थागत विद्यालयहरूको परीक्षा र मूल्यांकन प्रणालीलाई थप सशक्त बनाउने कुरामा हामी विश्वस्त छौं।”

“५ वटै विद्यालयहरूमा माध्यमिक तह ( कक्षा ९ र १०) र आधारभूत तह (कक्षा ८)को प्रश्नपत्र एउटै बनाउने निर्णय गरेका छौं।संस्थागत विद्यालयहरूमा परीक्षा, विदा, शैक्षिक कार्यपात्रो र पाठ्यपुस्तकमा समेत एकरूपता ल्याएका छौं।” CAD भीरकोटका अध्यक्ष एवं भू.पू सैनिक कम्युनिटी एकेडमीका प्रिन्सिपल खेमप्रसाद भट्टराईले भन्नुभयो , ” यो वर्षदेखि सबै विद्यालयहरूमा ४ वटा परीक्षा हुनेछन् र सबै परीक्षामा ८,९ र १० कक्षाको प्रश्नपत्रहरू एउटै हुनेछ्न्।”

भीरकोटका संस्थागत विद्यालयहरूमा करिब २ हजार विद्यार्थीहरू अध्ययनरत छन्। सबै विद्यालयहरूमा असार १९ गते आइतबारदेखि ३२ गते सम्म एकैपटक वर्षेविदा भएको छ।संस्थागत विद्यालयहरूको पहिलो त्रैमासिक परीक्षा साउन १८ गते देखि २६ गते सम्म संचालन हुने बुद्ध मेमोरियल अंग्रेजी आवासीय मा.वि.का प्रिन्सिपल माधव गैह्रेले जानकारी दिनुभयो।