उद्योग वाणिज्य दिवसको  अवसरमा खुल्ला रक्तदान

चैत २२, २०८०


२२ चैत्र २०८०, बिहीबार

उद्योग वाणिज्य दिवस- २०८० को पूर्वसन्ध्यामा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको संयुक्त आयोजनामा स्याङ्जामा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ। बिहीबार  स्याङ्जाको सहिदचोकमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गरेकी थिइन् ।

उद्घाटन  गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले स्याङ्जाका हस्पिटलहरुमा रगतको अभाव रहेकोले रेडक्रस र उद्योग वाणिज्य संघलाई अनुरोध गरी कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदान दानहरु मध्येको महादान भएको धारणा व्यक्त गरिन्। खुल्ला रक्तदान कार्यक्रमबाट ३५ युनिट  रगत संकलन भएको उद्योग वाणिज्य संघले जनाएको छ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका सभापति दिनेश अर्यालको समेत उपस्थिति रहेको थियो। सभापति अर्यालको  स्वागतसँगै सुरू भएको कार्यक्रमको संचालन  स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रबिन के.सी.ले गरेका थिए।