स्याङ्जा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता रेग्मीको चर्चा

भदौ २८, २०७९


२९ भाद्र २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्याङ्जा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश प्रवक्ता बोधराज रेग्मीको चर्चा चल्न थालेको छ । उहाँले  स्याङ्जा क्षेत्र नं १ का लागि शिक्षा , स्वास्थ्य, सिद्धार्थ राजमार्ग र पर्यटनका विषयमा आफ्ना मुद्दाहरु उठाउँदै आउनुभएको छ ।

को हुनुहुन्छ   रेग्मी ?
स्याङ्जा जिल्ला साविक पौवैगौडे गाविस वडा नं १९ हाल पुवनपा ५ मा पिता नरेन्द्र प्रसाद रेग्मी तथा माता लोकमाया रेग्मीको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएनुभएका बोधराज रेग्मी सानैदेखि सहयोगी र निडर व्यक्ति हुनुहुन्छ । पोखराको पृथ्वीनारायण क्याम्पसबाट स्नातक सम्मको अध्ययन गर्नुभएका  उहाँले २०६९ सालमा पोखराको न्युरोडमा दर्पण बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरि व्यवस्थापकिय भुमिकामा आठ बर्ष काम गर्नुभएको थियो । उहाँ सोहि अवधिमा सहकारीमा एकरुपता हुनुपर्छ र व्यवस्थापक हरेक कुरामा दक्ष हुनुपर्छ भन्ने उद्देश्य सहित नेपालमै पहिलो अभियान कास्कीबाट सुरुवात भएको ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ का संस्थापक सदस्य समेत हुनुहुन्छ।

अहिले उक्त क्लव नेपालका ठूला सहरहरु काठमाडौं, चितवन, विरगंज, नवलपरासी लगायत धेरै जिल्लामा विस्तार भईसकेको छ । सन् २०११ देखि लियो क्लव अफ पोखरा पिस चौतारी मार्फत समाजसेवामा सक्रिय रुपमा आबद्ध हुनुभयो । सन् २०१४ मा लायन्स क्लव अफ पोखरा पिस सोसाईटिको संस्थापक सदस्य बनी समाजसेवालाई अझै तिब्र पार्नुभयो । लायन्स क्लब अफ पोखरा पिस सोसाईटिको २०२०–२१ को अध्यक्ष भईरहँदा उहाँले  थुप्रै सामाजिक कार्यहरू गर्नुभएको छ । समाजसेवाकै क्रममा स्याङ्जा, कास्की, तनहुँ, गोरखा, पर्वत, मनाङ, गुल्मी लगायतका जिल्लाहरुमा समेत पुग्नुभएको छ ।

उहाँले पोखरा घारिपाटन स्थित हिमालय आँखा अस्पतालको सहकार्यमा कैयौं मोतियाविन्दुका बिरामीको निशुल्क उपचार तथा अपरेसन गराउन समन्वय समेत गर्नुभएको छ । नजिकका जिल्लाहरुमा भएका थुप्रै बृद्धबृद्धा र बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थाहरूलाई निरन्तर आववश्यकिय सहयोग गर्दै आउनुभएको छ।

 उहाँले २०७२ सालको भुकम्प पछि भुकम्प पिडितको राहतका लागि गण्डकी प्रदेशका अधिकांस जिल्लामा पुगेर सहयोग गर्नुभएको थियो । त्यस्तै उहाँले कोभिड महामारीको समयमा स्याङ्जा र कास्कीका गरिब समुदायमा खाद्यान्न वितरण समेत गर्नुभएको थियो।

उक्त समयमा राहतका लागि सरकारको एकद्वार प्रणाली गलत भएको र आफ्ना नजिकका गरिब तथा चुल्हो बल्न गाह्रो भएकाहरूलाई भोको बस्न नदिने भन्दै खाद्यान्न सामाग्री वितरण गरि सरकारलाई आफुलाई जेल हाल्न समेत चुनौति दिनुभएको  थियो । गतवर्ष मनाङमा बाढी पहिरो पिडितका लागि काठमाडौंको एउटा संस्थासँग सहकार्य गरि हेलिकप्टर मार्फत खाद्यान्न पुर्याउन समेत भ्याउनुभयो।



बोधराज एक कलाकार समेत हुनुहुन्छ । केही बर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘नाईके’ मा नायकको भुमिकामा अभिनय समेत गर्नुभएको थियो। उहाँको मुख्य पेसा पोखरा १७ घारिपाटन स्थित नामिस ईन्टरप्राईजेज नामक खाद्यान्न होलसेल र काठमाडौं गोंगबु स्थित ड्रिमसिटी ईन्टरनेशनल टुर्स एण्ड ट्राभल्स हुन् । यसका अलवा उहाँ चलचित्र पत्रकार संघ कास्कीका केन्द्रीय प्रतिनिधि तथा गुराँस लाईफ ईन्स्योरेन्ससँग पनि आबद्ध हुनुहुन्छ।

समाजका हरेक विषयमा चासो राख्ने रेग्मी २०७९ साउन ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलाबाट गण्डकी प्रदेश समिति सदस्यमा चयन हुनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा संगठन विस्तार तथा जिल्ला भेलामा व्यस्त उहाँ पूर्णकालिन राजनितीमा लागेको र युवाहरू राजनितीमा आउनुपर्ने बताउनुहुन्छ ।

पुतलीबजार नगरपालिका स्याङ्जाको शाखा बाटोहरुमा लिईने पटके कर आवश्यक नभएको र जनतालाई मारमा पारेको भन्दै तत्कालीन मेयर विरुद्ध खरो रुपमा उत्रने पहिलो व्यक्ति हुनुहुन्छ उहाँ । अहिले पुतलीबजार नगरपालिकाले उक्त कर हटाएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं १ बाट आफु आकांक्षी रहेको र पार्टीको निति अनुरुप टिकट लिएर आफ्नो क्षेत्रको हरेक कुराको विकासका लागि आफु तयार रहेको रेग्मीले बताउनुभयो ।