सुदृढ र व्यवस्थित बन्दै नगर अस्पताल

असोज २३, २०८०


आश्विन २३, स्मार्ट अखबार डेस्क

आर्थिक अभाव र विरामीको न्यून चापका कारण संचालन हुन नसकेर थला परेको भीरकोट नगर अस्पताल स्थानीय सरकारको सक्रियताका कारण अस्पतालमा बिरामीहरुको चाप बढ्न थालेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजिव झाका अनुसार अहिले स्वास्थ्यकर्मीहरूलाई बिरामीहरूको उपचार गर्न भ्याइ-नभ्याई छ । नगर अस्पतालमा अनुभवी डा.राजिव झाको पुनरागमन र स्वास्थ्य बीमा सुविधा लागू गरेपछि अस्पताल अहिले व्यवस्थित र सुदृढ बन्दै गएको हो।

चौबिसै घण्टा डाक्टर र स्वास्थ्यकर्मी सहितको राम्रो उपचार सेवा पाएकोमा सेवाग्राही पनि सन्तुष्ट छन् ।१५ शैय्याको नगर अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी ओपिडी सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा,  इसिजी सेवा, फार्मेसी सेवा, ल्याब सेवा, दन्तरोग सेवा, अक्सिजन सेवा, नेबुलाइजर सेवा नियमित रूपमा संचालन भैरहेका छ्न् ।

गाउँठाउँमा नै राम्रो उपचार सेवा पाएपछि अर्जुनचौपारी र भीरकोट नगरपालिकाका नागरिकहरू खुशी भएका छन्। दुबै पालिकाले सहकार्य गरि अस्पतालको सेवा प्रवाह नागरिकको मन जित्ने सुदृढ एवं विस्तार गर्ने सहमती भएको अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए।

“पोखरा जाने तयारीमा थियौं तर नगर अस्पतालमा राम्रो डाक्टर र स्वास्थ्य बीमा सुविधा पनि छ भन्ने थाह पाएपछि उपचारका लागि यहाँ आएका हौं। अस्पतालले दिएको उपचार सुविधाप्रती सन्तुष्ट छौं । ” उपचारका लागि अस्पताल आएकी लिलावती के.सी.ले भनिन् ।

अस्पताललाई व्यवस्थित बनाउन लागि परेका नगर प्रमुख अस्पतालको सेवा सुविधा विस्तार गर्न र बिरामीहरूको गुनासो सुन्न स्वयम्  नियमित रूपमा अस्पताल जाने गरेका छन्। अस्पताल व्यवस्थित भएसँगै सामान्य उपचारका लागि पनि स्याङ्जा, पाल्पा र पोखरा जानुपर्ने समस्याको अन्त्य भएको छ ।स्वास्थ्य बीमाको सुविधा र सुलभ मूल्यमा राम्रो उपचार हुने भएपछि स्थानीयहरू पनि उपचारको लागि बयरघारी , हेलु बजारका फार्मेसीमा भन्दा नगर अस्पतालमा जान थालेका छन्।

फोटो: सेवा सुविधाको बारेमा विरामीसँग प्रतिक्रिया लिदै नगर प्रमुख गोविन्द कुमार कर्माचार्

अहिले अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामीहरू उपचारका लागि आउने गरेको डा. झाले जानकारी दिए। उनका अनुसार बीमा अन्तर्गतका सबै औषधि पाइने अस्पतालमा औषधिमा समेत विशेष छुट सुविधा दिइएको छ। अस्पताललाई थप व्यवस्थित र सुदृढ बनाउन आगामी आर्थिक वर्ष स्वास्थ्यलाई प्राथमिकतामा राखेर सबै नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिने नगर प्रमुख कर्माचार्यले स्मार्ट अखबारलाई बताए। हाल करिब ५ सय विपन्न परिवारले निशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन्। प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले नगरपालिकाले नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताललाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताए। प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले सेवा सुविधा विस्तारको काम भैरहेकाले अबको एक महिना भित्र अस्पताल थप व्यवस्थित र सुविधासम्पन्न हुने बताए।

विगतमा कोभिड-१९ महामारीको बेला जिल्लाकै महत्त्वपूर्ण अस्पतालको रूपमा सेवा प्रदान गरेको नगर अस्पताल  जिल्लाको मध्यभाग भीरकोट नगरपालिका वाड नं. १ हेलु, स्याङ्जामा अवस्थित छ । अस्पतालमा एक जना डेन्टिस्ट सहित ३ जना डाक्टर, ३ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, २ जना अ.हे.ब, २ जना फर्मासिस्टले विरामीलाई सेवा दिइरहेका छन्।

अस्पताललाई सेवा प्रवाहलाई दिगो र व्यवस्थित बनाउन भीरकोट र अर्जुन चौपारीका सबै नागरिकले स्वास्थ्य बीमा गर्दा पहिलो सेवा प्राप्त गर्ने केन्द्रको रूपमा भीरकोट नगर अस्पताललाई प्राथमिकता दिनु आवश्यक छ। पालिकाहरूले  यो विषयमा गम्भीर भै आफ्ना स्वास्थ्य बीमा अभिकर्तालाई समेत नगर अस्पताललाई पहिलो सेवा केन्द्रको रूपमा उल्लेख गर्न निर्देशन दिनु आवश्यक छ। यदी त्यसो भयो भने जनताले घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछ्न् र अस्पताल समेत आत्मनिर्भर बन्नेछ।