वार्षिकोत्सबको अवसरमा रक्तदान 

बैशाख ३०, २०८१     युवराज पौडेल


 नेपाल शिक्षक सङ्घ स्याङ्जाले आफ्नो वार्षिकोत्सबको अवसरमा  रक्तदान कार्यक्रम गरेको छ। संघको ३५ औं वार्षिकोत्सबको अवसरमा आयोजाना गरिएको रक्तदान कार्यक्रममा ३५ जना शिक्षकहरूले रक्तदान गरेका थिए।वार्षिकोत्सबकै अवसरमा संघद्वारा प्रकाशित नयाँ वर्षको क्यालेन्डर विमोचन, शिक्षक सम्मान र फलफूल वितरण समेत गरिएको हो। पहिलो चरणको कार्यक्रममा ३५ जना शिक्षकद्वारा ३५ युनिट रगत सङ्कलन भएको थियो ।

प्रमुख  अतिथि संघीय सांसद राजु थापा लगायतले शिक्षक सङ्घद्वारा निर्माण गरिएको शैक्षिक क्यालेन्डर २०८१ विमोचन गरेका थिए।  कार्यक्रममा जिल्लाभरका शिक्षक सङ्घमा आबद्ध रहेर लामो समयसम्म क्रियाशील रहेका १०० जना शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि सङ्घीय सांसद तथा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले शिक्षकले नेपालका ठुलाठुला प्रजातान्त्रिक र शैक्षिक  आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेकाले शिक्षकलाई अपमान गर्नेहरू आफै समाप्त हुने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सम्पादन समिति सदस्य अजित क्षेत्री, नेका पूर्व सभापति कुमार राना, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति तथा केन्द्रीय सदस्य दिनेश अर्याल, उद्योग वाणिज्य सङ्घ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।

नेपाल शिक्षक सङ्घ स्याङ्जाले आइतबार बिहान जिल्ला अस्पताल स्याङ्जामा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालमा भर्ना भएर बसेका बिरामीहरूलाई फलफूल वितरण गरिएको सहसचिव शिव ढकालले जानकारी दिए ।



फलफूल वितरण कार्यक्रममा नेपाल शिक्षक सङ्घका अध्यक्ष पशुपति पौडेल, सचिव युवराज ढकाल, सहसचिव शिवप्रसाद ढकाल, शिक्षक महासङ्घकी कार्यवाहक अध्यक्ष वन्दना लम्साल, पुतलीबजार शिक्षक सङ्घका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष रामचन्द्र उपाध्याय, सचिव कृष्ण लामिछाने, कृष्ण गोदारलगायतको उपस्थिति रहेको थियो ।