नेपाल बन्दका कारण आलुको बीउ वितरण प्रभावित

मङि्सर ०१, २०७८


भीरकोट खबर डेस्क, १ मङ्सिर २०७८



भीरकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र आलुको बीउ वितरण कार्यक्रम नेकपाले गरेको बन्दका कारण प्रभावित बनेको छ।कार्तिक मसान्तसम्म आइसक्नुपर्ने आलुको बीउ बन्दका कारण ढुवानीमा समस्या हुँदा आज बिहान सम्म १० टन मात्रै भीरकोट आइपुगेको छ। कृषि शाखाका अनुसार एक दुई दिन भित्रै आलुको सबै बीउ आइपुग्ने छ।सबै आएपछि मात्रै कृषकहरूलाई वितरण गरिने कृषि शाखाले जनाएको छ।गहुँको बीउ भने वितरण केन्द्रमा आइसकेको छ।१२९ बोरा अर्थात ५१६० के.जी गहुँको बीउ खरिद गरिएको बताइएको छ। कृषि शाखामा सम्पर्क गरि “भृकुटी” जातको उन्नत गहुँको बीउ अनुदानमा लैजान सकिने बताइएको छ।यस अघि भीरकोटमा “गौतम” जातको गहुँ लगाउने गरिएको थियो। कृषि विज्ञ  द्रोणराज काफ्लेले “भृकुटी” जातको गहुँ हाम्रो क्षेत्रको माटो र हावापानी सुहाउँदो भएको र बढी उत्पादन दिने बताउनुभयो।



कुनै प्रष्ट मापदण्ड विना आलु तथा गहुँको बीउ कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दिनको लागि सूचना जारी गरिएकोमा आलुको ४७ टन बीउ माग भएको थियो।अनुदान कार्यक्रमका लागि छुट्याइएको वित्तीय सामार्थ्यका आधारमा करिब ३७ टन वितरण गर्ने लक्ष्य लिएको भीरकोट कृषि शाखाका विज्ञ द्रोणराज काफ्लेले जानकारी दिनुभयो।

आलुको बीउ आउन ढिलो भएको र समयमै नरोप्दा बाली तयार नहुँदै तुसारोले प्रभावित हुने भन्दै किसानहरूले आलु लगाउन थालिसकेका छ्न्।

“नगरपालिकाले अनुदानमा दिने बीउ आउन ढिलो भएकोमा कृषकहरूको गुनासो छ नि! हाम्रो क्षेत्रमा आलु लगाउन उपयुक्त समय कुन हो?” भन्ने हाम्रो जिज्ञासामा कृषि विज्ञ काफ्लेले नेपाल बन्दका कारण ढिलाई भएको बताउँदै कार्तिकको अन्तिम हप्तादेखी मङ्सिरको पहिलो हप्ता आलु रोप्ने एकदमै उपयुक्त समय भएको जानकारी दिनुभयो ।उहाँले मङ्सिरको दोस्रो सातासम्म आलु रोप्दा खासै फरक नपर्ने बताउनुभयो।

लामो समयदेखी कार्यालय प्रमुख विहिन हुँदा भीरकोट कृषि शाखाले गर्दै आएका कार्यक्रमहरू प्रभावित भएको जानकारहरू बताउँछ्न्।विज्ञ , जेटीए र सहयोगीका भरमा कार्यालय संचालन भैरहेको काफ्लेले समेत स्वीकार गर्नुभयो।