नेपाल योगी नरहरीनाथको मार्गमा हिड्नुपर्छ : ऋषिकेशजंग शाह

भदौ ०३, २०७९


स्मार्ट अखबार संवाददाता
३ भाद्र २०७९

विश्व हिन्दू युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाहले नेपालको समृद्धिका लागि देश योगी नरहरीनाथको मार्गमा हिड्नुपर्ने बताउनुभएको छ। विश्व हिन्दु युवा संघ स्याङ्जाले आज राम नदीधाम संस्कृत गुरूकुलमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष शाहले नरहरिनाथले देखाएको बाटो भुल्न नहुने कुरामा जोड दिनुभएको हो।उहाँले भन्नुभयो, “अब नेपालले ५ ग को आधारमा चल्नु पर्छ।गोरक्ष्यनाथ, गाई, गाँजा, ज्ञान र गाउँलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सकेमा मात्रै देशमा समृद्धि हाँसिल हुन्छ ।” गाँजालाई नसाको रूपमा नभएर औषधिको रुपमा प्रयोग गर्दा क्यान्सर जस्तो घातक रोग समेत निको पार्न सकिने भएकाले विदेशी बजारमा यसको मूल्य राम्रो भएको उहाँको भनाइ थियो। विश्व हिन्दु युवा संघ स्याङ्जाले गुरुकुलमा आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेता बटुकहरूलाई पुरस्कृत गर्दै अध्यक्ष शाहले गुरूकुलले राम्रो गरेको देख्दा खुसी लागेको कुरा बताउनुभएको थियो।गुरुकुलका समस्याहरुलाई सबै मिलेर सामाधान गर्नुपर्ने बताउँदै गल्याङ नगरपालिकाले गुरूकुलको विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

चित्रकला प्रतियोगितामा जयदेव बस्नेत प्रथम,
आदित्य पन्थी दोस्रो र विश्वास भट्टराईले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो। विजेता बटुकहरूलाई नगद, प्रमाणपत्र, स्टेसनरी समान प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलले प्रथम ,द्वितीय,तृतीय हुने बटुकहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो।उहाँले गुरुकुलका बटुकहरुलाई व्यक्तितब विकासका अन्य क्रियाकलापहरुमा सहभागी गराउन अनुरोध गर्नुभएको थियो ।रामनाधी धामको छुट्टै धार्मिक विशेषता भएकाले यसको विकासमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने उहाँको भनाई थियो।

विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कौशिक महाराज, देवी माता ,गुरुकुलका गुरुहरू उपस्थित रहेको थियो।

विश्व हिन्दु युवा संघ स्याङ्जाले विगतमा नैतिक शिक्षा विषय पाठ्यक्रम समावेश गराउन माग गरेको थियो र यो कुरा गण्डकी प्रदेश शिक्षा मन्त्रालय बाट शिक्षा नीतिमा पनि यो कुरा समावेश भइसकेको छ। अन्य पालिकामा छिट्टै स्थापना गर्ने प्रयास भैरहेको जिल्ला अध्यक्ष नबराज पौडेलले जानकारी दिनुभयो।