प्रधानाध्यापकहरूलाई क्षमता विकास तालिम

जेठ १३, २०८१     स्मार्ट संवाददाता


भीरकोट नगरपालिकाले पालिकामा कार्यरत प्रधानाध्यापकहरूलाई क्षमता विकास तालिम प्रदान गरेको छ। शुक्रबार संचालन गरिएको एकदिने क्षमता विकास तालिममा सामुदायिक र संस्थागत विद्यालयमा कार्यरत प्रधानाध्यापक र सहायक प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

तालिममा ४५ विद्यालयका ५२ जना प्रधानाध्यापक र सहायक प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।सहभागीहरूलाई नारायण आचार्य र केशव प्रसाद अमगाईंले प्रशिक्षण दिएका थिए। प्रधानाध्यापकहरूको नेतृत्व र  व्यवस्थापकीय क्षमता विकास गरि भीरकोटको  शैक्षिक गुणस्तर सुधार गर्न तालिम प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले बताए।

नगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न प्रधानाध्यापकहरूलाई  नमुना विद्यालयको भ्रमण, उत्प्रेरणात्मक तालिम, क्षमता विकास तालिम प्रदान लगायतका विविध प्रयासहरू गर्दै आएको छ। तर तालिम र  भ्रमणमा सिकेका विषयवस्तुहरूको कार्यान्वयनको मूल्यांकन र अनुगमन गर्ने प्रभावकारी संयन्त्र नहुँदा  अपेक्षाकृत सुधार हुन सकेको छैन। स्थानीय व्यापारी, राजनीतिज्ञ र  जनप्रतिनिधिहरूले नै पालिकाका विद्यालयलाई विश्वास नगरी पालिका बाहिरका विद्यालयमा आफ्ना छोराछोरीलाई पढ्न पठाउने प्रवृतिले पालिकाको शैक्षिक गुणस्तरमा आशातित सुधार हुन सकेको छैन।