भीरकोटको तीजगीत प्रतियोगिता, महिला न यता न उता

असोज ०५, २०८०


गोपाल जिटी
बिहिवार, आश्विन ४ २०८०

परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भीरकोट नगरपालिकाले यसवर्षको तीजपर्वका अवसरमा प्रतियोगितात्मक तीजगीत कार्यक्रम सम्पन्न गर्यो । नगरपालिकाले असोज १ गते सोमबार तीजको दिन महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत नगरस्तरीय तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो । नगर स्तरीय प्रतियोगिताका लागि भनेर गत भदौ २० देखि २९ गतेसम्म वडागततहमा प्रतिस्पर्धा गराइएको थियो । जस अनुसार नगरपालिकाका ९ वटै वडामा प्रथम र द्वितीय स्थान हासिल गरेका १८ मध्ये १७ समूहले प्रतियोगितामा सहभागिता जनाए । यसरी संस्कृतिको संरक्षणका लागि नेपाली नारीहरुको पर्वका अवसरमा नगरपालिकालाई नै तीजमय बनायो ।

IMG_6226.JPGतीज पर्व धार्मिक रूपमा हिन्दु नारीको भएपनि सामाजिक र सांस्कृतिक रूपमा समस्त नेपाली नारीहरूको चाड हो । भीरकोट नगरपालिकाले प्रतियोगितात्मक तीजगीत कार्यक्रम गरेर संस्कृति संरक्षण र महिलामैत्री बन्ने कोशिष गरेको देखिन्छ । यसलाई सकारात्मक कदम मान्नुपर्छ । वडागत प्रतियोगितादेखि नै महिलाहरुले साच्चै नै उत्साहजनक उपस्थिति जनाए । तर नेपाली नारीहरुको पर्वमा एक दुई ठाउँबाहेक महिलाको अध्यक्षता र सञ्चालनमा कार्यक्रम हुन नसक्नुलाई भने दुःखको कुरा मान्नुपर्छ । के महिलाहरु सक्षम छैनन् या चाहना राखेनन् ? कि अवसर दिइएन ? लगायतका प्रश्न गर्ने ठाउँ बनाएर सकियो प्रतियोगितात्मक तीजगीत कार्यक्रम ।

वडागत कार्यक्रमपछि नगर स्तरीय प्रतियोगितामा पनि महिलाहरुले जिम्मेवार भूमिकामा ठाउँ पाउन सकेनन् । प्रतियोगिताको निर्णायक मण्डलमा महिला अटाएनन् भने कार्यक्रम सञ्चालन पनि पुरुषबाट नै भयो । महिलाको पर्वमा महिलाले नै किन ठाउँ पाउन सकेनन् ? यसको जवाफ नगरपालिकासँग नै होला । हरेक कार्यक्रमहरुमा महिला सहभागिता अनिवार्य हुनुपर्ने भनिन्छ । महिलाको अनिवार्य सहभागिता भन्नका लागि मात्र होइछ कि भन्ने भीरकोटको यो कार्यक्रमले देखायो । निर्णायकको भूमिकामा पनि उस्तै रह्यो । यहाँ त झन न त संस्कृतिसँग जोडिएका व्यक्ति नै देखियो न त गीत सङगीतबाट पहिचान बनाएका नै थिए, थिए त शिक्षक तथा राजनीतिकर्मी ।

IMG_6281.JPGप्रतियोगितात्मक कार्यक्रममा सहभागीहरुलाई समय निश्चित गर्नुपर्छ भन्नेसम्म आयोजकले हेक्का राख्न सकेन । कार्यक्रम सञ्चालकले पटक पटक प्रतियोगीहरुलाई १० देखि १२ मिनेटको समय दिइएको जानकारी गराइरहे ।

प्रमुख आमन्त्रित व्यक्ति भने गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी हुनुहुन्थ्यो । मन्त्री अर्याल महिला अधिकारका सवालमा राम्रै अडानकासाथ आवाज उठाउनेमा पर्नुहुन्छ । तर आफ्नै अगाडि जिम्मेवार ठाउँमा महिलालाई नसमेटिएको कुरा उहाँले देख्नुभएन या बोल्न चाहनुभएन  भन्ने मन्त्रीज्यूकै जिम्मा भयो ।

IMG_6233.JPGसाङ्गितिक कार्यक्रम राम्रो बनाउने साउण्ड सिस्टम र बाद्यवादन हो । यहाँ पनि  व्यवस्थापन कमजोर देखियो । जसका कारण कार्यक्रमको पूरा अवधि अस्पष्ट र भद्दाापनमै मडारियो । त्यसो त हजार भन्दा धेरैलाई निमन्त्रणा गरेर ३ सयजना अट्ने सिटी हलमा कार्यक्रम गरिनुल तीजको रमाइलो हेर्न आउनेहरुलाई निरुत्साहित मात्र पारेन, गुनासो गर्दै फर्किन बाद्य बनायो ।कार्यक्रम आयोजना भनेपछि बजेटको कुरा आइहाल्छ । यो कार्यक्रमका लागि नगरपालिकाले कति छुट्याएको थियो र कति खर्च भयो भन्ने सार्वजनिक हुन बाँकि नै छ ।

यसरी हेर्दा विषयगत व्यक्तिसँगको परामर्श र विना योजना कार्यक्रम भएको अनुमान गर्न सकिन्छ । योसँगै अन्य कार्यक्रम र योजनाहरु नगरपालिकाले कसरी गरेको होला भन्नेसमेत जनचासोको विषय नबल्ला भन्न सकिन्न ।
अतः भीरकोटको तीजगीत प्रतियोगिता, महिलाहरु न यता न उता, जता हेर्यो उतै अस्तव्यस्तता….।