Bheerkot Idol को दोस्रो राउण्ड सम्पन्न

असोज ०९, २०७८


आश्विन ०९, प्रकाश अर्याल,

“भीरकोटको शान, कला र गलाको सम्मान” भन्ने मूल मन्त्र सहित सुरू गरिएको गायन प्रतिभाको खोजी गर्ने कार्यक्रम Bheerkot Idol Singing Competition को दोस्रो राउण्ड सकिएको छ।शुक्रबार भीरकोट २ बयरघारीमा रहेको सम्राट सदनमा दोस्रो राउण्डसम्पन्न भएको हो।

प्रि अडिसनबाट छनिएका ८३ जना मध्य पहिलो राउण्डमा ३७ जना छानिएका थिए। सेलेक्सन भएका कुल ३७ प्रतिस्पर्धीमध्य दोस्रो राउण्डबाट उत्कृष्ट १७ जनालाइ अर्को Difficult Round को लागि छनौट गरिएको छ। खिलुङ कालिका म्युजिक एण्ड मुभिज प्रा. लि. ले आयोजना गरेको प्रथम Bheerko Idol ले भीरकोटका विभिन्न विद्यालयहरूमा गएर प्री अडिसन गरेको थियो। उक्त प्रतिस्पर्धामा विभिन्न उमेरका बालबालिका देखि गायन क्षेत्रमा रुचि राख्ने आमाहरु पनि सहभागी हुनुहुन्थ्यो।शुक्रबार सम्पन्न भएको राउण्डमा सबै प्रतिस्पर्धिले track मा गीत गाएका हुन्। अब हुने अर्को Difficult Round यहि असोज १५ गते सम्राट सदनमै दर्शककै उपस्थितिमा हुने छ ।

बालमैत्री भीरकोट नगरपालिका मुख्य प्रायोजक रहेको यो कार्यक्रमका विजेताहरूको लागि प्रथम र द्वितीय पुरस्कारको प्रायोजन पुन रेकर्डिङ्ग स्टुडियो, पोखराले गरेको छ भने तृतीय पुरस्कारको प्रायोजन मदन एन्ड सन्स फर्निचरका संचालक सन्दिप के.सि.ले गर्नुभएको छ।नेपाली कांग्रेस भीरकोटका वर्तमान नगर सभापति तोयनाथ अर्यालले कार्यक्रमको ब्यानर निर्माणमा सहयोग गर्नुभएको छ । यसैगरी ओरेन्ज ट्री रेष्टुरेन्ट सुम्रेखोला, स्याङ्गजाले पम्पेलेट छपाइमा सहयोग गरेको छ ।कार्यक्रम संचालनका लागि सम्राट सदन, बयरघारीले हल प्रदान गरि सहयोग गरेको छ । भीरकोटका शुभलक्ष्मी बचत तथा ऋण सहकारी, दर्लामी रेस्टुरेन्ट, गुरूङ फेन्सीले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गरेका छ्न् । अर्याल मिस्ठान्न स्याङ्गजाको समेत सहयोग पाएको यो कार्यक्रममा एन्जल कोरियन स्कुल, पोखरा र बालोदय माध्यमिक विद्यालय, सुन्दरबजारले पनि शैक्षिक सहयोगीको भूमिका निर्वाह गरेका छ्न् । मिडिया सहयोगीका रूपमा स्याङ्गजा एफएम 89.6, स्याङ्गजा, वालिङ्ग टेलिभिजन, वालिङ्ग रेडियो आँधिखोला 105.4, वालिङ्ग, आँधिखोला एक्सप्रेस र भीरकोट खबर डट कमले सहकार्य गर्ने आयोजकले जनाएको छ । स्थानीय कार्यक्रम भएपनि क्षमतावान राष्ट्रिय स्तरको प्रतिभा छनोट गर्ने उद्देश्य राखेको यो कार्यक्रमले सम्पूर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरूलाई धन्यवाद दिंदै थप सहयोगको अपेक्षा पनि गरेको छ । भीरकोट आइडलमा आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुले आयोजकको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. 07200106976689000001 मा रकम जम्मा गर्न सकिने जनाइएको छ । आर्थिक सहयोग गर्ने सबैलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।