भीरकोट दरबार अझै व्यक्तिकै नाममा, डिपिआर बनेर पनि निर्माण हुन सकेन
स्मार्ट अखबार संवाददाता,स्याङ्जा
७ असार २०७९
स्थानीय विकास मन्त्रालयले २०७२ स्याङजा जिल्लामा रहेका साविकका दार्सिङ्ग दहथुम, खिलुङदेउराली, ढापुक सिमलभञ्याङ र बानथोक देउराली, स्वरेक, छाङ्गछाङ्गदी, कालिकाकोट गाँउ विकास समितिहरुलाई समेटेर भीरकोट नगरपालिका घोषणा गरेको थियो । भीरकोट नगरपालिकाको केन्द्र दार्सीङ्ग दहथुम गाँउ विकास समितिको बयरघारी बजार रहेको छ ।
भीरकोट नगरपालिका भित्र विभिन्न खालका ऐतिहासिक सम्पदाहरू छन् । त्यस्तै इतिहासलाई फर्केर हेर्ने हो भने स्याङजाको भीरकोट नगरपालिकामा रहेको भीरकोट दरबार एउटा छुट्टै खालको ऐतिहासिक सम्पदा हो। यो दरबार भीरकोट नगरपालिकाको वडा नम्बर १ जगतपूरमा छ । वि.सं. १९९० सालमा तत्कालिन राजा तारकबहादुर शाहले स्थापना गरेको भीरकोट दरबार अहिले सम्म पनि कायमै रहेको छ । यही दरबारको नामबाट २०७३ साल असोज ३ गते भीरकोट नगरपालिकाको नामाकरण गरिएको हो । यस दरबारमा ३ तल्ला र १५ कोठाहरु रहेका छन । खाँदीखोलको किनार र भर्ला कुनाको खेतहरुमा तयार गरिएको ईट्टाहरु प्रयोग गरी यो भवन निर्माण गरिएको थियो । पूर्व पश्चिम तर्फ कलात्मक ढोकाहरु निर्माण गरिएको यो दरबार मगर मिस्त्रीबाट तयार गरिएको थियो । ५२ वटा झ्याल ढोकाहरु भएको यस दरबारमा ठुलाठुला कोठाहरु रहेका छन ।बुढापाकाहरुको भनाइ अनुसार यस दरबारको छादन नौतुनावाट मानिसहरुले बोकेर ल्याएका थिए ।विभिन्न व्यक्तिहरुले यस दरबारलाई लिएर छुट्टा छुट्टै विश्लेषण गरेका छन् । कतिपय अनुसन्धानकर्ताहरुले राजाहरुको बारेमा समेत फरक फरक धारणा राखेको पाइन्छ । सबैजनाको कुरालाई नियाल्ने हो यस विषयमा एक किसिम्मको अन्योल रहदैँ आएको छ ।
भीरकोट राज्य वि.स. करिब १४९५ स्थापना भएको थियो । तत्कालिन चौबिसे राज्यका संस्थापक समेत रहेका जैनखानले सबैभन्दा पहिला स्याङ्जाको खिलुङ्गमा राज्यको स्थापना गरेका थिए । केही वर्ष त्यस राज्यमा जैनखानले राज्य गरे तर केही असहजता भएका कारण त्यस राज्यलाई छाडेर भीरकोटमा उनीहरुले आफ्नो राज्य स्थापना गराएर ठकुरी राज्यको स्थापना गरे ।
खिलुङ्गमा बस्न विभिन्न खालका समस्याहरु आए । जस्तै पैदल यात्रा गरेरे सामाग्री लिन जान पर्ने भएकाले राज्य छोडेर भीरकोट झरेको भन्ने कुरा धेरैबाट सुन्न पाइन्छ । केही अनुसन्धानकर्ताहरुसँग बुझ्दा, खिलुङ्गमा पानीको समस्या, देखि हरेक कुराको आयातको समस्या भएपछि माथि डाँडाबाट हेर्दा भीरकोटमा सबै किसिम्मका सेवासुविधा भएकाले त्यहाँ आएर राज्य स्थापना गरेका थिए । साथै एक राज्यसँग अर्का राज्यका राजाहरु विभिन्न विषयहरुमा एकआपसमा युद्ध गरेको पनि इतिहास पाइन्छ ।
अनुसन्धानकर्ता डा. तुलसी प्रवासका अनुसार भीरकोट दरबार अहिले व्यक्तिको नाममा रहेको छ। अनुसन्धानकर्ता प्रवासले भन्नुभयो, “भीरकोट नगरपालिकाको नामकरण पनि त्यै भीरकोट राज्यको नामबाट भएको थियो । भीरकोट दरबार अहिले ऋिषिकेश शाहको छोरा प्रकाश बहादुर शाहको नाममा रहेको छ । ’’त्यस बखत कर्मीहरुको अलिकति अभाव भएका कारण दरबार पूर्ण रुपमा सम्पन्न नभएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “त्यो बेला बिजुली मार्फत हावा आउने कुनै औजार नभएर होला, हावा आउन लागि भनेर दरबार भित्र प्रशस्त दुल्काहरु राखिएको छ । त्यसैले यसको पूर्ण निर्माणका लागि भनेर मैले पनि उक्त जग्गाधनी सँग पटकपटक कुरा गरेको छु ।’’
भीरकोट नगरपालिका वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीका अनुसार भीरकोट दरबार संरक्षण गर्न र यसको अस्तित्व हराउन नदिने हेतुका साथ दरबारलाई अझ राम्रो बनाउनका लागि डिपीआर तयार पारिएको छ।
भीरकोट दरबार अहिलेसम्म व्यक्तिको नाममा भएकाले दरबार निर्माण कार्य अघि नबढाएको अध्यक्ष केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पटकपटक सम्पर्क गरेका छौँ, तर जग्गाधनी विदेश भएकाले समस्या परेको र निमार्ण काम अघि बढाउन कठिनाइ भएको छ ।’’ उहाँले थप्नुभयो, “जग्गाधनीले हामीलाई दरबार दिन साथ जसरी सामाजिक सञ्जालमा जनताले भीरकोट दरबारको डिपीआरलाई देखेका छ्न् त्यसैगरी त्यो दरबार निमार्ण गरेर भीरकोटलाई चिनाउने लक्ष्यका साथ अघि बढेको छौँ ।’’