भीरकोट उद्योग वाणिज्य संघको पाँंचौ वार्षिक साधारणसभा सम्पन्न

पुष २१, २०८०


स्मार्ट संवाददाता, भीरकोट
२०८० पुस २१, शनिबार

भीरकोट उद्योग वाणिज्यले आफ्नो पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। व्यवस्थापकीय कमजोरीका कारण संस्थाको परिसरमा रहेको सडक मार्गमानै गरिएको साधारण सभामा स्थानीय सरकार प्रमुख गोविन्द कुमार कर्माचार्यको समेत उपस्थिति रहेको थियो।

साधारणसभामा अध्यक्ष जगदिश प्रसाद कोइरालाले अध्यक्षको प्रतिवेदन,महासचिवको प्रतिवेदन महासचिव चोपनारायण श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। तर उनीहरू प्रतिवेदनमा उल्लेख गरिएका गतिविधि र आर्थिक उपलब्धि एकदमै निराशाजनक रहेको थियो। एक हजार भन्दा बढी सदस्यहरू रहेको उद्योग वाणिज्य संघको साधारणसभामा कार्यसमितिका सदस्य समेत अनुपस्थित रहेको साधारण सभामा व्यवसायीहरूको निराशाजनक उपस्थिति रहेको थियो।

स्थापना भएको ७ वर्षसम्म पनि आफ्नो काम कर्तव्य र अधिकार थाहा नभएको र आफ्नै सदस्यहरूको समेत हकहितमा प्रभावकारी ढङ्गले काम गर्न नसकेकोमा वक्ताहरूले वाणिज्य संघको आलोचना गरेका थिए। संस्थाकै अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिवका मन्तव्य र प्रतिवेदनले संस्थाले आफ्नो शाख समेत जोगाउन नसक्ने अवस्थामा पुगेको प्रष्ट देखिन्थ्यो।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा कार्यक्षेत्रभन्दा बाहिर गरेको समेत भेटियो। सम्पूर्ण ग्यास प्रा.लि. ले भीरकोटमा बजार मूल्य भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको हुँदा सम्बन्धित कम्पनीसँग बढी लिएको रकम २ लाख ४८ हजार असुल गरि सम्बन्धित उपभोक्तालाई फिर्ता गरिएको उल्लेख छ। पटकपटक उद्घाटन गरेको तर प्रभावकारी रूपमा संचालन हुन नसकेको हाटबजारलाई संस्थाले उपलब्धिका रूपमा लिएको छ।

उद्योग वाणिज्य संघले कर शिक्षा संचालन, नापतौल उपकरण चेकजाँचमा सहजीकरण , वाणिज्य बैंक स्थापनाका लागि पहल,पुटपाथ व्यवस्थापन , आगालागी पिडित व्यापारी राजेश पौडेललाई २ लाख २९ हजार राहत सहयोग, अन्त शुल्क नविकरण तथा आयकर दाखिलामा सहजीकरण , संस्थाको नाममा भित्ते पत्रीका प्रकाशन , उपभोक्ता तथा व्यापारी सचेतना लगायतका महत्त्वपूर्ण कार्यहरू समेत गरेको छ। संस्थाले १० लाख ४८ हजारको वार्षिक कारोबार गरेको कोषाध्यक्षको प्रतिवेदनले देखाएको छ ।

बिज्ञापन

वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बजार व्यवस्थापनको भूमिकाबाट माथी उठेर भीरकोट उद्योग वाणिज्य संघले आफ्नो संगठनात्मक जिम्मेवारी र भूमिकालाई दरिलो बनाउनुपर्ने बताए। स्थानीय सरकारले व्यापारीको हितलाई समेत हेरेर योजना र बजेट निर्माण गर्नुपर्ने धारणा राख्दै व्यापारका मन्दिका कारण व्याज समेत तिर्न गाह्रो भएको र बैंकको व्याजदर नघटेसम्म व्यवसायी माथी उठ्न नसक्ने वातावरण रहेको उनको दु:खेसो थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका मीन बहादुर के.सी. ले अरूलाई दोष लगाउने प्रवृतिका कारण बजार व्यवस्थापन कमजोर भएको, कृषि उत्पादनले राम्रो बजार नपाएको तर राम्रो काममा काँधमा काँध मिलाउने प्रतिबद्धता जनाएका थिए।

नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले मन्दिको समय भएकाले धैर्य गर्न, व्यवसायमा निरन्तर लागि पर्न, संस्था स्थापनाको उद्देश्य अनुसार काम गर्न आग्रह गरेका थिए। नगरपालिकाले उद्योगी व्यवसायीहरूको हित हुनेगरी सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

साधारणसभामा महिला नेतृ इन्दिरा के.सी., सुनिता उच्चै ठकुरी, वडा अध्यक्षहरू तारा अर्याल , श्याम काजी अधिकारी, दिपेन्द्र के.सी., नेपाली काँग्रेसका नेता तोयनाथ अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए।