वडा अध्यक्ष निलम्बित तर सेवा प्रवाह निरन्तर

माघ १७, २०७८


स्मार्ट अखबार संवाददाता
माघ १७, भीरकोट



नागरिकताको सिफारिस दिने क्रममा आर्थिक लेनदेनको विवादमा मुछिएका भीरकोट नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष भीम बहादुर गुरूङ र वडा सदस्य कुल बहादुर गुरुङ निलम्बित हुनुभएको छ। अख्तियारबाट नगरपालिकामा निलम्बनको पत्र आए सँगै उहाँहरूलाई जनप्रतिनिधिले पाउने कुनै जिम्मेवारी तथा सुविधा नदिएको नगरपालिका स्रोतले दाबी गरेको छ।



नागरिकता बनाउने क्रममा सेवाग्राहीसँग १ लाख ३५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

नगर प्रमुख छायाराम खनाल र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले वडा अध्यक्ष निलम्बनमा परेपछि वडा सदस्य धनसुभा रानालाई कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको र वडाले प्रदान गर्ने सबै सेवा निरन्तर प्रवाह भैरहेको बताउनुभयो। वडा सचिव शोभाकान्त पौडेलका अनुसार गत मंसिर २० गते देखिनै वडा सदस्य धनसुभा रानाले कार्यबाहकको जिम्मेवारी समाल्दै आउनुभएको छ।

नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनाल र प्रवक्ता दिपेन्द्र के.सी.ले भने निलम्बनमा परेका जनप्रतिनिधिहरूले मोटरसाइकल फिर्ता गरे नगरेको विषयमा स्पष्ट र चित्तबुझ्दो जवाफ दिन नसकेपछि वडा कार्यालय र नगर प्रशासनमा सम्पर्क गर्दा सवारी साधन वडा कार्यालय र नगरपालिका दुवै ठाउँमा नरहेको पाइएको छ। निलम्बनमा परेपनि राजनीतिक संरक्षणका कारण उहाँहरूले सरकारी सवारी प्रयोग गरिरहेको प्रष्ट भएको छ। निलम्बनमा परेका वडा सदस्य कुल बहादुर गुरूङ नेपाली काङ्ग्रेस प्रदेश निर्वाचन २ क का उपसभापति समेत हुनुहुन्छ।