दहथुम बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरण

साउन २४, २०७९


स्मार्ट अखबार संवाददाता
२४ साउन २०७९

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले दहथुम बहुमुखी क्याम्पस, दहथुममा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। क्याम्पसमा अध्ययनरत ५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। क्याम्पसमा एक कार्यक्रम आयोजना गरी १ लाख ८२ हजार बराबरको रकम छात्रवृत्ति प्रदान गरिएको क्याम्पसले जनाएको छ।

छात्रवृत्ति वितरण कार्यक्रममा क्याम्पसका अध्यक्ष पिताम्बर श्रेष्ठले नगरपालिकाले क्याम्पसको शैक्षिक विकासमा गरेको सहयोग प्रती आभार प्रकट गर्नुभएको थियो।उहाँले क्याम्पसमा व्यवस्थित पूर्वाधार विकासको लागि सरोकारवाला सबैले सक्दो पहल गर्नुपर्ने आवश्यकता औल्याउँनुभएको थियो।

क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले क्याम्पस बसको आवश्यकता परेको बताउँदै आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गर्नुभएको थियोे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले क्याम्पसको समग्र पक्षहरूको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो। क्याम्पसको सिफारिसमा नगरपालिकाले उक्त क्याम्पसमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ। निवर्तमान नगर प्रमुख छायाराम खनालले सुरू गरेको छात्रवृत्ति वितरण कार्यक्रमलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको हो।कार्यक्रममा बोल्दै निवर्तमान नगर प्रमुख खनालले क्याम्पसको शैक्षिक उन्नयनका लागि क्याम्पसले दिने सबैखाले जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभयो।