पालिकाद्वारा बजार अनुगमन

साउन २५, २०७९


स्मार्ट अखबार संवाददाता,
२५ साउन २०७९                                        भीरकोट नगरपालिकाले  पालिका भित्रको मुख्य बजार क्षेत्र बयरघारीमा  बजार अनुगमन गरेको छ। नगरको वडा नम्बर १ र २ को प्रगति टोल, ९९ चोक, राधाकृष्ण मार्ग, बिरेन्द्र टोल हुदै सानाकिसान मार्ग सम्मका पसलहरूको  अनुगमन गरेको हो ।

नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यको नेतृत्वमा भएको अनुगमनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद कोइराला, नगर प्रवक्ता एवं भीरकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिपेन्द्र केसी, वडा नं. २ का वडा अध्यक्ष श्यामकाजी अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बहादुर थापा लगायतको जनप्रतिनिधिको टोली, भीरकोट नगरपालिकाका कर्मचारीहरु , भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइराला, दहथुम प्रहरी चौकी प्रमुख एवं प्रतिनिधिको सहभागितामा १८ व्यवसायमा अनुगमन गरिएको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालीकाले बताएको छ । बजार अनुगमनको क्रममा पसलहरुलाई म्याद सकिएका सामानहरु तत्काल हटाउन र म्याद नसकिएको सामान  मात्र बिक्री वितरण गर्न टोलीले निर्देशन दिएको छ ।