भीरकोटमा गाउँ शहर क्लिनिक निर्माणका लागि अनुग्रहको सात लाख सहयोग
भीरकोट खबर डेस्क, १९ कार्तिक २०७८भीरकोट नगरपालिका वडा नं ८ रिपमा गाउँ शहर क्लिनिकको भवन निर्माणका लागि अनुग्रह समाज कल्याण पोखराले नगद रू सात लाख अनुदान सहयोग गरेको छ। रिपमा स्वास्थ्य चौकी/गाउँघर क्लिनिक नहुँदा रिपका बासिन्दाहरू सामान्य स्वास्थ्य सेवा लिनका लागि समेत गाउँशहर क्लिनिक, मोहनडाँडा वा स्वास्थ्य चौकी, ढापुक जानुपर्ने बाध्यता छ। अहिले सम्म ढापुक स्वास्थ्य चौकीबाट खटिने स्वास्थ्यकर्मीहरूको टोलीले हरेक महिनाको ९ गते रिपमै पुगी घुम्ती सेवा प्रदान गरिरहेको छ। भवन र फर्निचर अभावमा सेवा प्रवाह गर्न असहज भएको अवस्थालाई मध्यनजर गर्दै रिप टोल सुधार समितिका अध्यक्ष मन बहादुर एस.के. र सहयोगी आत्मा नेपाल ,पोखरा १२ रानीपौवाको पहलमा पोखराको गैरसरकारी संस्था अनुग्रह समाज कल्याण ,पोखरा १५ सहयोग गरेको हो।भवन निर्माणका लागि टोल संयोजक मन बहादुर एस.के.ले गत वर्ष दिवंगत हुनुभएका आफ्नो भाइ प्रेम बहादुर एस.के. को सम्झनामा २ कोठे भवन र शौचालय निर्माणका लागि आवश्यक पर्ने जग्गा निशुल्क प्रदान गर्नुभएको छ।वडा अध्यक्ष तन बहादुर गुरुङ र ढापुक स्वास्थ्य चौकी प्रमुख डिलबहादुर नेपालीले अनुग्रह समाज कल्याण, कास्की सँग सम्झौता गरिसक्नुभएको छ। भवन निर्माणका लागि पेस्की स्वरुप नगद रू तीन लाख निकासा समेत भैसकेको रिप टोल सुधार समितिका अध्यक्ष मन बहादुर एस. के. ले जानकारी दिनुभयो ।गाउँ शहर क्लिनिक निर्माण भएपछि वडा नं ५ थालेखर्कका बासिन्दाहरू समेत प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ।