बौद्धिक र प्राज्ञिक व्यक्तित्वलाई कुलपती बनाउनुपर्छ: कोइराला

फागुन २७, २०७८



२७ फागुन २०७८



नेकपा माओवादी केन्द्र भीरकोटका अध्यक्ष मीन प्रसाद कोइरालाले भीरकोट प्रज्ञाप्रतिष्ठानमा बौद्धिक र प्राज्ञिक व्यक्तित्वलाई कुलपति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । प्रज्ञाप्रतिष्ठान गठनको पूर्वसन्ध्यामा उहाँले सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सो कुरा व्यक्त गर्नुभएको हो ।



“भीरकोट नगरपालिकाले गरेका केही उल्लेख्य कामहरू मध्ये गठन हुँदै गरेको प्रज्ञा प्रतिष्ठान पनि एक हो। धेरै पालिकाहरुमा नभए पनि यहाँ गठन हुनु हामी सम्पूर्ण भीरकोटबासीको लागि गौरवको कुरा पनि हो। गठन हुनु एकातिर महत्वपूर्ण कुरा हो भने प्रज्ञाको गरिमालाई सम्बोधन सहित गठन हुनुपर्ने अर्को महत्त्वपूर्ण कुरा हो।
सर्वप्रथम प्रज्ञा प्रतिष्ठान गठनको मूल उद्देश्य के हो र हामी किन गठन गर्दैछौ स्पष्ट हुन जरुरी छ ।” उहाँले भन्नुभएको छ, “यहाँ कसैलाई खुसी पार्न अथवा राजनीतिक स्वार्थ र उद्देश्य पूरा गर्न भन्दा पनि प्रज्ञाको मर्म भावना अनुरुप भीरकोटको भाषा, कला, साहित्य, इतिहास, दर्शन, संस्कृति र सम्भाव्यता सबैलाई नजिकबाट नियालेको र सम्बोधन गर्न आफुमा खुबी भएको तथा अध्ययन अनुसन्धानमा कृयाशील ब्यक्ति कुलपतिका रूपमा सर्वसम्मत चुनिनु पर्दछ।”

उहाँको विचारमा भोलिका दिनमा कुलपति भन्न सुहाउने/राजनीतिसंँग जोडिएको भएपनि समान सामाजिक दृष्टिकोण भएको नितान्त बौद्धिक र प्राज्ञिक ब्यक्ति कुलपतिका रूपमा छनोट गर्नुपर्दछ।

प्रज्ञाप्रतिष्ठान गठन गर्दा राजनीतिक नियुक्ति हुन नहुने भन्दै उहाँले भन्नुभएको छ, “भोलि भीरकोटको गरिमा उच्च राख्न सबै खाले प्राज्ञिक कर्ममा भीरकोटलाई चिनाउन सक्ने खुबी भएको ब्यक्ति छनोट हुनु समग्र भीरकोटको लागि आवश्यक छ ।यतिबेला हामीले गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान बाट पाठ सिकेर त्यस्तो छुद्र राजनीतिक नियुक्ति नहोस् भन्ने सुझाव दिन चाहन्छु ।”