बोल्डर तटबन्धनको कारोबारमा मेरो संलग्नता छैन : नगर प्रमुख कर्माचार्य

जेठ ०४, २०८१     एनपी कोइराला


स्याङ्जाको भीरकोट नगरपालिकामा संचालित आँधिखोला तटबन्धन कार्यक्रममा सर्वसाधारणले भ्रष्टाचार भएको आरोप लगाएका  छन्।  पालिकाको वडा नं ४ मा आँधिखोलामा  तटबन्धन गर्न रूपाताल संरक्षण एकीकृत विकास परियोजना अन्तर्गत ३० लाख रूपैयाँको बजेट विनियोजन भएको थियो।योजनाका निम्ति ढुङ्गा बिक्रि गरेका स्थानीय पदम बहादुर श्रेष्ठले सामाजिक संजालमा  भिडियो शेयर गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले योजना कार्यान्वयनका क्रममा दलाली गरेको र आफूले पाउनुपर्ने भुक्तानी समेत नपाएको कुरा व्यक्त गरेका छन्। भिडियोमा योजना स्थल देखाउँदै उनले आफूले भुक्तानी नपाएपछि उक्त ढुङ्गा उठाउन लागेको समेत बताएका छन्।

 

सामाजिक संजालमा शेयर भएको भिडियोको वास्तविकता के हो भनी नगर प्रमुख गोविन्द कुमार कर्माचार्यलाई सोध्दा उनले उपभोक्ता समिति  र निर्माण व्यवसायीलाई ढुङ्गाको स्रोतको बारेमा जानकारी गराएको  र योजना कार्यान्वयन गर्न सहजीकरण गरेको बताए।  उनले भने, ” वडा नं ४ गैह्राथोकमा भएको  बोल्डर तटबन्धनको आर्थिक कारोबारमा  मेरो कुनै संलग्नता छैन । यदि कसैले छ भनेर प्रमाणित गर्छ भने दोब्बर जरीवाना वा कानुन बमोजिम सजाय भोग्न तयार छु।” भूक्तानीको विषय उपभोक्ता समिती र निर्माण व्यवसायीले जान्नुपर्ने उनको भनाई छ। विनाप्रमाण सामाजिक संजालमा झुटो आरोप लगाएकाले भिडियो शेयर गर्ने श्रेष्ठलाई साइबर क्राइम अन्तर्गत प्रहरीमा उजुरी गर्ने तयारी भैरहेको नगर प्रमुख कर्माचार्यले बताए।

 

आँधिखोलामै पहिलोपटक नयाँ प्रविधिको तटबन्धन गरिएको छ। हेभी बोल्डर (ठुला ढुङ्गा ) नदि किनारमा मिलाएर थुपारिएको तटबन्धनमा भीरकोट १ हेलु निवासी पदमबहादुर श्रेष्ठसँग ४ लाखमा ढुङ्गा खरिद गर्ने सम्झौता भएको स्रोतले बतायो। तर श्रेष्ठले अहिलेसम्म उक्त रकम अहिलेसम्म नपाएको   बताए। उनले स्मार्ट अखबारसँग कुरा गर्दै भने, “मेयरले फकाइफुलाई ढुङ्गा लैजानुभएको थियो । योजना सम्पन्न भएर भुक्तानी पनि भैसक्यो तर मैले १ रूपैयाँ पनि भुक्तानी पाएको छैन। अब खोलामा राखिएका ढुङ्गा उठाउनुको विकल्प छैन।” श्रेष्ठले सामाजिक संजालमा भिडियो शेयर गर्दै योजनामा पारदर्शी तरिकाले काम नभएको र नगर प्रमुखले दलाली गरेको आरोप लगाएका हुन्।

उपभोक्ता समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले नगरप्रमुखले  सहजीकरण गरेर ढुङ्गा ल्याइएको र रूपाताल संरक्षण  एकिकृत परियोजनाका इन्जिनियरले ल्याएको व्यक्तिले निर्माणको काम गरेको हुँदा रकम भूक्तानी नहुनु दु:खद भएको बताए।



योजनाका इन्जिनियर विशाल थापाले  योजना बमोजिम काम  भएको र उपभोक्ताले करिब २६ लाख भुक्तानी लिएको बताए।उनले लागत स्टमेट बमोजिम काम भएको र योजनामा कुनै तलमाथि नभएको दाबी गरे। रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख काली बहादुर शाहीले स्मार्ट अखबारसँग कुरा गर्दै आँधिखोलाको बहावको प्रकृति र भूगोल हेरेर बोल्डर प्रविधी अपनाएर तटबन्धन गरिएको बताए। उनले भने , “नगर प्रमुखले योजना कार्यान्वयनमा सहजीकरण गरिदिनुभएको हो तर सामाजिक संजालमा आए जस्तो कुनै मिलोमतो छैन। हामी परियोजना स्थलमै आएर सर्वसाधारणलाई योजनाको काम र लागतको बारेमा प्रष्ट पार्न तयार छौँ ।”   परियोजना प्रमुख शाहीले ढुङ्गा बिक्रेताले  भुक्तानी नपाएको विषयमा थप अध्ययन  गरि निर्माण व्यवसायीलाई आवश्यक कारबाही गर्ने बताएका छन्।